नेपालगन्ज — लुम्बिनी कप आमन्त्रण महिला फुटबलको आधिकारिक टिसर्ट शनिबार नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा वैशाख ५ देखि नेपालगन्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै छ । प्रतियोगितामा भारत र नेपालका गरी आठ टिमको सहभागिता रहने जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले टिसर्ट सार्वजनिक गरेका हुन् । मन्त्री अग्रवाललाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले टिसर्ट हस्तान्तरण गरेका थिए ।
मन्त्री अग्रवालले नेपालगन्जमा हुने लुम्बिनी कप महिला फुटबलले खेलाडीको सहभागिता बढाउन ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
मन्त्रीले फुटबललगायत समग्र खेलकुदको विकासका लागि आपनो तहबाट आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द र नेपालगन्जका पूर्व उपमेयर उमा थापा मगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, बाँके जिल्ला अध्यक्ष नवीन गिरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन सबै पक्षबाट सक्दो सहयोग हुनु जरुरी रहेको चर्चा गरे ।
