उद्घाटनमा आयोजक बीस पचहत्तर र सुनवल भिड्ने
तिलोत्तमा — आजदेखि बुटवलमा प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । बीस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा हुने प्रतियोगितामा भारतको एक क्लबसहित ८ टिमको सहभागिता रहेको छ ।
सिद्धेश्वरी लालकुमारी विद्यालयको खेल मैदानमा चैत ३० गतेसम्म चल्ने प्रतियोगितामा आयोजक बीस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगन्ज युथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौंडा फुटबल एकेडेमी, राइजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ, एमएससी भारतको टिमले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा शनिबार दिउँसो ३ बजे आयोजक बीस पचहत्तर युवा परिवार र सुनवल नगरपालिका भीड्दै छन् ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शकलाई हेर्न सहजता होस् भनी १ हजार जना अट्ने अस्थाई प्याराफिट निमार्ण गरिएको अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् । प्रतियोगितामा सहभागी हुन आउने टिमहरुमा राष्ट्रिय खेलाडी समेत सहभागी हुँदै छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार प्रदान गरिनेछ । त्यस्तै विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई १० हजारले पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए ।
