चितवनलाई सजिलो, लुम्बिनीलाई गाह्रो

चितवन १–० बुटवल–लुम्बिनी

चैत्र २३, २०८१

हिमेश

Chitwan is easy, Lumbini is difficult

काठमाडौँ — चितवन एफसीले अब प्लेअफ सम्भावनाबारे सोच्दा हुनेछ, तर टोलीको खुट्टा भने भुईंमै हुनुपर्नेछ । चितवनले शुक्रबार नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ । त्यो पनि लगातार क्लिन सिटसहित ।

त्यसैले चितवन सजिलो स्थितिमा रह्यो । ६ अंकसहित लिग तालिकाको शीर्षमा छ । यसको ठीक विपरीत बुटवल–लुम्बिनी एफसी भने कमजोर स्थितिमा रहेको छ । बुटबलको ३ खेलबाट १ अंकमात्र छ । टोली पुछारबाट दोस्रोमा छ । 

‘एक अर्को जितपछि हामी कम्फर्ट जोनमा हुनेछौं,’ चितवनका प्रशिक्षक नवीन न्यौपानेले माने । दोस्रो हाफले इन्ज्युरी समय छोइसक्दा कुनै गोल भएको थिएन । दुवै टिम मैदानको मध्यभागमै व्यस्त रहे । बुटवल–लुम्बिनीको तुलनामा खेलमाथि चितवनकै अधिपत्य थियो । लागिरहेको थियो, यो खेल पनि गोलरहित बराबरीमा टुंगिनेछ । तर नेपाली फुटबल खेलेका विदेशी खेलाडीमध्ये उत्कृष्ट मान्न सकिने टोरिन जेबरिनको भने बेग्लै योजना थियो । 

उनले खेलको एकमात्र गोल इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेपछि चितवन टिममा अपार खुसीयाली छाएको थियो । कुनै समय पोर्टसमाउथसँग आवद्ध ३४ वर्षीय जेबरिनले पेनाल्टी एरियाबाहिरबाट बायाँ खुट्टाको शक्तिशाली प्रहारको मदतमा बललाई पोस्टका दिशा दिए । त्यसलाई रोक्ने चितवनका गोलरक्षक दीप कार्कीसामु कुनै विकल्प बनेन । ‘हामीले लगातार आक्रमण बुनिरह्यौं र अन्त्यमा निर्णायक गोल पनि निस्कियो,’ खेल विश्लेषण गर्दै प्रशिक्षक न्यौपानेले भने । 

उनले आफ्नो ध्यान बाँकी खेलमा केन्द्रित हुने बताए । उनको तर्क थियो, ‘हामीलाई लगातार खेल्नु छ । त्यसैले हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको नै खेलाडीलाई फिट राख्नु हो । आजको खेलपछि हामीसामु आफ्ना खेलाडीलाई कसरी अर्को खेलमा तयार गर्ने हो भन्ने चुनौती हुनेछ । प्रतियोगितामा सुखद सुरुआत गर्न पाएकामा भने हामी खुसी छौं र त्यो कायम राख्न चाहन्छौं ।’ चितवनको अर्को खेल झापाविरुद्ध आइतबार खेल्नुपर्नेछ । 

लुम्बिनीलाई चर्को दबाब

लगातार दोस्रो हार र एकै बराबरीको स्थितिमा बुटवल–लुम्बिनीमाथि चर्को दबाब सिर्जना भएको छ । ‘यस्तो स्थितिमा दबाब स्वभाविक नै हो । तीन खेलपछि एकै अंकले टिमको कमजोर प्रदर्शन दर्शाउँछ नै । तर, हाम्रा लागि अगाडि बढ्ने बाटो नै रोकिएको भने छैन । हाम्रो सम्भावना समाप्त भएको छैन । राम्रो प्रदर्शनका लागि प्रयास जारी रहन्छ,’ बुटवल–लुम्बिनीका भुटानी प्रशिक्षक पुष्पलाल शर्माले भने, ‘हरेक खेलमा अन्तिम क्षणसम्म हामी मिहिनेत गरिरहेका छौं ।’

बुटवल–लुम्बिनीका लागि सबैभन्दा ठूलो चुनौती भनेको आफ्ना खेलाडीलाई शारीरिक मात्र होइन, मानसिक रूपमा दरिलो राख्नु हुनेछ । रेफ्री उमेश बिडारीले खेल सकिएको संकेत गर्दै ह्विसल मात्र के बजाए, टिमका अधिकांश खेलाडी निराश हुँदै मैदानमै ढलेका थिए, विशेषतः टोलीका विदेशी खेलाडी ।

अधिकांश खेलाडीको अनुहार मलिन थियो र त्यसमा असन्तुष्टको भाव भरपूर देखिन्थ्यो । ‘फुटबलमा पराजित हुँदा को मात्र खुसी हुनसक्छ र ? सबैको स्थिति यस्तै हुने हो,’ प्रशिक्षक शर्माले थपे । 

अझ उनले अगाडि भने, ‘म्यानचेस्टर सिटीसँग के मात्र छैन ? उत्कृष्ट प्रशिक्षकका रूपमा पेप ग्वार्डिओला र उत्तिकै उत्कृष्ट खेलाडीहरू । तर त्यही टिमले पनि लगातार जित्न सक्दैन, उनीहरूको खेल पनि खराब हुन्छ । यही टिम पराजित हुन्छ ।

उनीहरूको अगाडि म को नै हुँ र ? मैले फेरि दोहोर्‍याएर भन्छु, चोटग्रस्त खेलाडी हाम्रा लागि सबैभन्दा ठूलो समस्या छ । खेलाडीको चोटले हामीलाई धेरै दुःख दिएको छ । हामी सबै सुरुदेखि राम्रो प्रदर्शनका लागि दबाबमा थियौं, त्यो भने म मान्दिनँ ।’ 

दुई खुसीको कीर्तिमान

यो जितसँगै चितवनले खुसीको दुई कीर्तिमान बराबरी गरेको छ । तीनै सिजनमा मात्र प्रवेश गरिरहेको प्रतियोगितामा चितवनले लगातार ४ खेलमा क्लिन सिट राखेको कीर्तिमान बराबरी गरेको छ । ललितपुरले पहिलो संस्करणमा लगातार चार खेलमा कुनै गोल खाएको थिएन ।

चितवनले पछिल्लो संस्करणका आफ्ना अन्तिम दुई खेलमा कुनै गोल खाएको छैन । अब टोलीसामु प्रतियोगितामै सबैभन्दा लामो समय गोल नखाएको कीर्तिमान बनाउने अवसर हुनेछ । 

चितवनको यो लगातार तेस्रो जित पनि हो । टोलीले पछिल्लो संस्करणको आफ्नो अन्तिम खेल जितेको थियो । यस्तोमा चितवनले आफ्नो १६ औं खेलमा आएर जितको ह्याट्रिक गरेको छ । यसअघि काठमाडौं रेजर्स र ललितपुर सिटीले पनि लगातार तीन जित हात छन् । अर्को खेलमा झापाको सामना गर्दा चितवनसामु लगातार चौथो जितको कीर्तिमान आत्मसात् गर्ने अवसर हुनेछ । चितवनले यस्तो गर्न सक्छ भने लगभग तय जस्तै हुनेछ । टिम प्लेअफ पुग्नेछ ।

हिमेश

Link copied successfully