बारा — १५औं जितपुर सिमरा गोल्डकपअन्तर्गत बाराको सिमरा रंगशालामा शुक्रबार राति फ्लड लाइटमा भएको उद्घाटन खेलमा हनामी बिएफसी भरतपुरले आफ्नो विजयी यात्रा सुरु गरेको छ ।
दर्शकले खचाखच भरिएको रंगशालामा भएको प्रतियोगितामा भरतपुरले सिरहाको सलहेश युवा क्लबविरुद्ध २–१ ले जित निकाल्दै उसले विजयी यात्रा सुरुवात गर्दै सेमी फाइनलका लागि यात्रा पक्का गरेको छ ।
भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले समान एक–एक गोल गरे भने सिरहाका लागि सुशील राईले सान्त्वना गोल फर्काए । पहिलो हाफमा कसैले कसैविरुद्ध गोल गर्न सकेनन् ।
पहिलो हाफमा खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा गोलरहित बनेको प्रतिष्पर्धात्मक खेलको ६० औं मिनटमा भरतपुरले एक गोल गर्दै अग्रता लिएको थियो ।
आकाश थापा मगरको कर्नर पासलाई डिबक्स भित्रबाट विशालले गोलमा परिणत गर्दै चकित पारेका थिए । त्यसैले उसले टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ७९ औं मिनटमा विशाल राईले गोल गर्दै सिरहालाई खेलमा फर्काएका थिए । अमन लामाको क्रस पासलाई सदुपयोग गर्दै विशालले डिबक्स बाहिरबाट आकर्षक गोल गरेका थिए ।
अन्तिम समयमा सम्हालिन नसकेको सिरहाविरुद्ध निर्णायक गोल गर्दै भरतपुरले सेमीफाइनल यात्रा तय गर्यो । खेलको ८५औं मिनेटमा राज भुषालले सिरहाविरुद्ध निर्णायक गोल गरेका थिए ।
भरतपुरका सुदीप मगरले प्रहार गरेको फ्रिकिक सिराहाका डिफेण्डरले हेडिङमार्फत क्लिएर गर्ने क्रममा रिवाउण्ड बललाई करिब ३० यार्ड परबाट भुषालले गोलमा परिणत गरेका थिए ।
खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच भरतपुरका राज भुषाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ट्रफी प्रदान गरेका थिए ।
जंगलसँगै जोडिएको रंगशालामा जंगलमा लागेको डढेलोको धुँवाले रंगशाला केहीबेर धुँवामय भएको थियो । शनिबार आयोजक नव जनजागृति युवा क्लब सिमरा र हेटौंडाको एन्फा मकवानपुरकाबीच खेल हुँदैछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगितामा यसवर्ष ८ टिम सहभागी छन् ।
