काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग शुक्रबार ‘जुम’ को माध्यमबाट बैठक गरेको छ । आयोजक पाकिस्तानी ओलम्पिक कमिटीले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई प्रतियोगितामा प्रस्तावित खेलबारे प्रतिक्रिया मागेको हुनाले बैठक बसेको एनओसीले जनाएको छ ।
एनओसी मुख्यालयमा सरकारबाट प्रवेश निषेध गरिएकाले ‘जुम’ को माध्यमबाट छलफल भएको हो । बैठकमा सहभागी विभिन्न राष्ट्रिय संघका प्रतिनिधिहरूले आफ्नो खेलस्पर्धा थप गर्नुपर्ने, मिलाउनुपर्नेबारे प्रतिक्रिया दिएका थिए ।
बैठकमा भएको छलफलअनुसार एनओसीले आयोजक पाकिस्तानी ओलम्पिक कमिटीलाई रायसहित सुझाव पठाउने छ । त्यसैअनुसार प्रतियोगिताको तयारीका कार्यक्रम अगाडि बढ्ने एनओसीले जनाएको छ ।
