दाङ — घोराहीमा भइरहेको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
रोल्पाले कपिलवस्तुलाई ३–० को सोझो सेटमा हरायो । रोल्पाले २५–१७, २५–२०, २५–१८ को सेटमा विजय पाएको थियो । पाल्पाले दाङविरुद्ध २५–१५, २५–१५, २५–१८ को सोझो सेटमा विजय नतिजा निकाल्यो । अब पाल्पाले सेमिफाइनलमा रोल्पाविरुद्ध खेल्नेछ ।
बाँकेले रुकुम पूर्वलाई ३–२ को सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा बाँकेले २५–२२, २५–१८, २२–२५, २०–२५, १५–११ को सेटमा जित पायो । रूपन्देहीले अर्घाखाँचीलाई ३–० को सोझो सेटमा हराउँदा २५–१६, २५–८, २५–२० को नतिजा निकालेको थियो । अब रूपन्देहीले सेमिफाइनलमा बाँकेसँगको भेट पक्का गरेको छ ।
लुम्बिनीका १२ जिल्लाले प्रतियोगितामा भाग लिएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरण गौतमले बताए । प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।
विजेताले १ लाख र उपविजेताले ६५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत विजेता पनि पुरस्कृत हुनेछन् ।
