काठमाडौँ — नेपालको प्रतिष्ठित ए डिभिजन क्लब एक थ्रीस्टारले स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती समारोह मनाउने भएको छ । थ्रीस्टार २०३१ सालमा स्थापित भएको क्लब हो ।
थीस्टारका क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले बिहीबार पत्रकार सम्मेलनमा दुई चरणमा विभिन्न स्वर्ण जयन्ती कार्यक्रम गरिने जानकारी गराए ।
पहिलो चरणमा शनिबार रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम हुनेछ । थ्रीस्टारका पूर्व खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेलसमेत पुनर्मिलन कार्यक्रम गरिनेछ । थ्र्रस्टार क्लबबाट खेल्ने अहिलेसम्मका सबै खेलाडीलाई भेला गरी मैत्रीपूर्ण खेलको माध्यमबाट पुनर्मिलनको उद्देश्यसहित कार्यक्रम हुन लागेको हो ।
चैत २९ गते दोस्रो चरणमा सम्मान तथा अभिनन्दन कार्यक्रम र सांगीतिक तथा नेवाः भ्वय् (नेवारी भोज) कार्यक्रम गरिनेछ । सम्मान कार्यक्रममा अहिलेसम्म थ्रीस्टारबाट खेल्ने खेलाडी, शुभचिन्तक र सहयोगी संघसंस्थालाई सम्मान तथा अभिनन्दन गरिनेछ । क्लबका आजीवन सदस्यहरू पनि सम्मानित हुनेछन् ।
कार्यक्रममा थ्रीस्टारले अहिलेसम्म जितेका सिल्ड, ट्रफीको प्रदर्शन पनि गरिनेछ । सहिद स्मारक लिगमा २०२६ देखि सहभागी भएर थ्रीस्टार क्लब डी, सी, बी हुँदै २०३९ सालमा ‘ए’ डिभिजनमा बढुवा भएको हो । थ्रीस्टारले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी कुल ३४ उपाधि जितेको छ । थ्रीस्टार क्लब विभिन्न प्रतियोगितामा १४ पटक उपविजेता पनि बनेको छ । क्लबले नेपालको ए डिभिजन लिग तीन पटक, राष्ट्रिय लिग एक पटक र भारतमा भएका विभिन्न प्रतियोगितामा सात पटक उपाधि जितेको छ ।
स्वर्ण जयन्तीकै अवसरमा करिब ५ सय क्लबका शुभचिन्तक भेला गरी चैत २९ गते साँझ सांगीतिक कार्यक्रम गर्ने जनाएको छ । थ्रीस्टार नेपालको सर्वाधिक समर्थक भएको क्लबमा पर्दछ ।
