पोखरालाई हुनुपर्ने लज्जाबोध

ललितपुर ३–२ पोखरा

चैत्र २१, २०८१

हिमेश

Shame on Pokhara

काठमाडौँ — नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गरेको प्रहारले गोल–लाइन नाघेको थियो कि थिएन ? यो उत्तर कसैले कहिल्यै ठोकेर भन्न सक्ने छैनन् । त्यो प्रहारमा गोल भएको पनि हुन सक्छ । नभएको पनि हुन सक्छ । 

गोलको निर्णय दिँदा पनि विवाद हुने थियो । गोल भएन भन्दा पनि विवाद भयो नै । नवयुगको प्रहारलाई ललितपुर सिटी एफसीका गोलरक्षक जेफरी विलीले रोकेका थिए । पोखरा थन्डर्सको दाबी थियो, विलीको बचाउ अगाडि नै बेलले गोल–लाइन नाघिसकेको थियो । 

विश्व फुटबलमा यस्तो विवाद यसअघि पनि हजारौं भए, पछि पनि भइरहनेछ । प्रविधिको अभावमा रेफ्री र उनका सहायकले यस्तो स्थितिमा यही हो भनेर कहिले पनि उत्तर दिन सक्ने हुँदैन । त्यसैले रेफ्री नवीन्द्र महर्जन र एसिस्टेन्ट रेफ्री किसन कन्हैयाले त्यो परिस्थितिमा जे जस्तो निर्णय गरे, त्यो ठीक थियो ।

समस्या के भयो भने त्यही निर्णयका लागि पोखराले जसरी विरोध गरे र त्यसपछि जस्तो स्थिति बन्यो, त्यो फुटबलका लागि जहिल्यै दुःखद् नै हुन्छ । विशेषतः पोखराको लाइन–अपनै नभएको सुन्दर थापा कसरी टिमको बक्समा रहे र तिनले कसरी मैदानमा तनावको स्थिति सिर्जन गरे, त्यो क्षमायोग्य थिएन । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रलाई घम्सा घम्सीमा स्पष्ट रूपमा लडाएका थिए ।

त्यसैले उनी कारबाहीका भागिदार त हुनुपर्ने छ नै, पूरा घटनाक्रममा पोखरालाई लज्जाबोध पनि हुनुपर्नेछ । तनावबीच कम्तीमा छ मिनेट खेल रोकिएको थियो । प्रश्न त आयोजकमाथि पनि उठ्ने छ, कसरी जो कोही पनि प्लेयर बक्समा बस्न सक्ने हुन्छ भनेर । लगातार दोस्रो हार र शून्य अंकको स्थितिले पोखराको शीर्ष चारको सम्भावना पनि असाध्यै कमजोर भएको छ । अर्कोतर्फ डिफेन्डिङ च्याम्पियन ललितपुरका लागि यो जितले धेरै राहत दिनेछ । अब उसको दुई खेलबाट चार अंक भएको छ । 

एडुवार्डोको दुई गोल

ललितपुरको यो जितमा जोनाथन एडुवार्डोले दुई गोल गरे । उनले ११ औं मिनेटमा पहिलो गोल गरे । उनको कर्नर प्रहार पोखराका गोलरक्षक प्रिसोलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । समीर तामाङले ४२ औं मिनेटमा पोखराका लागि बराबरी गोल फर्काए । नवयुगको सुरुआती प्रहार रिबाउन्ड भएपछि त्यसमै समीरले गोल गरेका हुन् । बराबरीको स्थिति भने लामो समय टिकेन ।

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा इमोह इजिकेलले ललितपुरका लागि दोस्रो गोल गरे । खेलको ७५ औं मिनेटमा एडुवार्डोले सनिश श्रेष्ठको पासमा तेस्रो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको ११ औं मिनेटमा जोए आइडुले पोखराका लागि दोस्रो गोल गरे, तर यसले खेलमा निर्णायक प्रभाव छाड्न सकेन । यो सान्त्वना गोल मात्रै रह्यो ।

खेलपछि ललितपुरका साइमन ग्रेसनले दोस्रो खेलमा पूरा तीन अंक प्राप्त भएकोमा राहत महसुस भएको प्रतिक्रिया दिए । उनका कप्तान अनन्त तामाङले भने आफ्नो टिमको लक्ष्य हरेक खेलमा जित रहेको दाबी गर्दै त्यसलाई प्राप्त गर्न नसके बराबरीका लागि खेल्ने बताए । उनको भनाइ थियो, ‘टिमको प्रदर्शनमा सुधार आवश्यक छ, किनभने हामीले दुई खेलमा चार गोल खाइसक्यौं ।’

‘भीएआर’ को चर्चा

अनन्तले खेलका क्रममा उठेको विवादबारे पनि बोले र उनको सुझाव थियो, ‘भीएआर’ भएको भए सजिलो हुने थियो । उनले भने, ‘मैले गोल लाइनमा के भयो, त्यो देखिनँ । रेफ्रीलाई निर्णय दिन गाह्रो थियो । गोलको निर्णय भएको भए हामीले पनि अपिल गर्ने थियौं ।’ ‘भीएआर’ प्रविधि आफैंमा निकै महँगो छ र एउटा केही लामो प्रतियोगिताकै लागि मात्र भए पनि यो प्रविधि प्रयोग गर्नुको अर्थ एन्फा स्वयंको आधा जतिको बजेट यसमा खन्याउनु हुने गर्छ ।

पोस्ट म्याच कन्फ्रेन्समा पोखराका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रीको आलोचना गर्न भने भुलेनन् । उनले भने, ‘प्रतियोगिता अनुसार रेफ्री भएन । रेफ्रीको सानो भुलले भने पनि १–२ करोड रुपैयाँका लगानी खेर जान्छ । हामीले स्पष्ट रूपमा गोल भएको देखेका थियौं । त्यसैले अपिल पनि गरेका थियौं । खेल हार्दा रेफ्रीमाथि आरोप लगाएको पनि भन्न सकिन्छ ।’ प्रशिक्षक श्रेष्ठले एउटा तथ्य भने माने, पोखराको प्रदर्शन सोचेअनुसार भएन । टिम सकारात्मक रहेको बेला पनि स्थिति राम्रो भएन ।

हिमेश

Link copied successfully