धनकुटा — धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपअन्तर्गत बिहीबार (आज) पहिलो सेमीफाइनल खेलमा नमोबुद्ध फुटबल क्लब सप्तरी र बिर्तामोड युनाइटेड भिड्दै छन्।
भीमनारायण गोल्ड कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको बिर्तामोडसँग नमोबुद्धको भेटलाई कौतुहलताका साथ लिइएको छ ।
नमोबुद्धले आयोजक सहिद भीमनारायण धनकुटा टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बिर्तामोडले चित्लाङ फुटबल क्लब काठमाडौंलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । खेल धनकुटा बजारको तल्लो टुडिखेलमा अपरान्ह चार बजे सुरु हुने आयोजकले जनाएको छ ।
शुक्रबार भने, विभागीय टिम एपीएफ क्लब र गाईघाट फुटबल क्लब सेमीफाइनलमा भेट हुने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ।
प्रतियोगितामा विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र हात पार्ने छन्। यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।
