कृतिशले गरेको त्यो गोल

चैत्र २०, २०८१

हिमेश

That goal scored by Kritish

काठमाडौँ — भनिन्छ, फुटबलले दोहोर्‍याएर मौका दिइरहेको हुन्छ । नेपाल सुपर लिग (एनएसएल) मा अघिल्लो दिन बदनाम जस्तै भयो । मंगलबार आइपुग्दा त्यो सबै बिर्सने मीठो बहाना पनि मिल्यो । खेल थियो, धनगढी एफसीविरुद्ध बुटवल लुम्बिनी । यस खेलमा भएका गोलका आधारमा मज्जाले भन्न मिल्नेछ, यो प्रतियोगिता इतिहासकै एक उत्कृष्ट रह्यो । जति–जति बेला मैदान बाहिर होइन, भित्रको खेलले चर्चा पाउँछ, त्यो जहिले पनि सुखद नै हुन्छ ।

 सानदार जितसँगै धनगढीले प्रमाणित गरेको छ, यो टिम लगातार तेस्रो सिजन पनि फाइनल पुग्न सक्षम छ । त्यही हारले बुटवल लुम्बिनी भने दबाबमा आएको छ । 

यो खेललाई सम्झनुपर्ने कारण दुई गोल रहनेछन् । त्यसमा एउटा गोल रह्यो, कृतिशरत्न छुन्जुको । यसको बयान गर्दै स्पेनी प्रशिक्षक हुँवा म्यानुलले भनेका छन्, ‘यो त म्याराडोना र मेसीले गरेको गोलजस्तै रह्यो ।’ अर्को अहमद हिजाजीले गरेको दोस्रो व्यक्तिगत गोल रह्यो ।

बुटवल लुम्बिनीका गोलरक्षक दीप कार्कीले राम्रोसँग ‘क्लियर’ गर्न नसकेको बललाई लेवनानी खेलाडी हिजाजीले निकै कठिन कोणले गोल गरे । यसमा तिनै म्यानुलको प्रतिक्रिया थियो, ‘यो त एक प्रकारले असम्भव गोलजस्तै रह्यो ।’ धनगढी अघिल्ला दुई सिजन फाइनल पुगेको टिम हो तर दुवै अवसरमा यो टिम उपाधिबाट चुकेको पनि छ । ती दुवै अवसरमा बेहोरेको पीडालाई केही हदसम्म भुलाउन अहिलेको जितले धनगढीलाई धेरै हदसम्म मद्दत गर्नेछ ।

धनगढीको सबैभन्दा ठूलो जित

प्रतियोगिताका तीनै सिजन गरेर धनगढीले अहिलेसम्म १९ खेल खेलेको छ । त्यसमध्ये यो नै अहिलेसम्मको सबैभन्दा ठूलो जित रह्यो । अझ एकै खेलमा धनगढीले चार गोल गरेको पनि यो पहिलो पटक हो । बुटवल लुम्बिनीले भने अहिलेसम्मकै ठूलो हार बेहोर्‍यो । उसले एउटै खेलमा चार गोल खाएको पनि यो पहिलो पटक नै हो । ‘आजको जितमा खुसी त छु तर सन्तुष्ट भने छैन किनभने एउटा प्रशिक्षकका रूपमा जहिले पनि त्योभन्दा राम्रो जितको अपेक्षा हुन्छ,’ म्यानुलले भने, ‘अब हाम्रो ध्यान अर्को खेलतर्फ हुनुपर्नेछ, त्यसमा अझ राम्रो खेल्नुपर्नेछ ।’

हिजाजीले छैटौं मिनेटमा पहिलो गोल गरे र यसको खुसियाली विशेष ढंगले मनाए । उनले बललाई आफ्नो जर्सीभित्र लुकाएर साथी खेलाडीसँग हर्ष साटे । लगत्तै बूढीऔंला पनि चुसे । पछि यसको कारण खुलाउँदै उनले भने, ‘मेरी श्रीमती गेना गर्भवती छिन् र हामी पहिलो सन्तानको अपेक्षामा छौं ।’ त्यसपछि बुटवल लुम्बिनीका लागि केन्ता हाराले ३२ औं मिनेटमा एक गोल फर्काए र पहिलो हाफ स्थिति १–१ को बराबरीमा रह्यो । दोस्रो हाफको अन्त्यतिर धनगढीको प्रदर्शन सनसनीपूर्ण रह्यो ।

कृतिशले ७५ औं मिनेटमा 

आफ्ना तीन प्रतिद्वन्द्वी खेलाडीलाई छलाएर मीठो गोल गरे र यसलाई प्रतियोगिताकै इतिहासको सबैभन्दा उत्कृष्ट गोल भन्दा हुनेछ । उनी आफैं पनि मान्छन्, यो उनको खेल जीवनको सबैभन्दा राम्रो गोल हुनुपर्नेछ । उनी भन्छन्, ‘तर यो कसरी भयो, त्यो मलाई केही पनि सम्झनामा छैन ।’ कृतिशले यसका लागि भिडियो रिप्ले हेर्दा हुनेछ । उनी मात्र के र, अरू सबैले पनि यो गोललाई दोहर्‍याएर हेर्दा मज्जा नै आउनेछ ।

दोस्रो हाफमा अन्त्यमा नौ मिनेट इन्ज्युरी समय थपिएको थियो र सुरुमा तिनै प्रशिक्षक म्यानुल त्यसको विरोध गरिरहेका थिए । उनी ढुक्क हुन सकेका थिएनन्, आफ्नो टिमको जितमा । डर थियो, कतै बुटवल लुम्बिनी खेलमा फर्कने त होइन । तर आफ्नो यो विरोधमा उनलाई पश्चात्ताप पनि हुनेछ किनभने यही समयमा दुई गोल निस्के । हिजाजीले इन्ज्युरीको छैटौं मिनेटमा आफ्नो दोस्रो गोल गरे भने सर्जियो बारबोजुले इन्ज्युरीको नवौं मिनेटमा चौथो गोल गरे ।

बुटवल लुम्बिनीलाई गाह्रो

बुटवल लुम्बिनी यसपल्टको प्रतियोगितामा दुई खेल खेल्ने पहिलो टिम भएको छ तर उसको खातामा एकै अंक मात्र छ । यस्तोमा बुटवल लुम्बिनीका लागि अबको यात्रा गाह्रो हुनेछ । टिमका भुटानी प्रशिक्षक पुष्पलाल शर्माले पनि माने, अब भने टिम दबाबमा आएको छ । उनले भने, ‘सुरुआती दुई खेलबाट एकै अंक मात्र आएको छ । लिग चरणमा ६ खेल मात्र रहेको स्थितिमा हामीलाई दबाब हुनु स्वाभाविक नै हो । अबका चार खेल जित्नुबाहेक अर्को विकल्प हुने छैन ।’

खराब सुरुआतको कारणचाहिँ के हुन सक्छ त ? यसको उत्तरमा प्रशिक्षक शर्माले भने, ‘हामीलाई खेलाडीको चोट सबैभन्दा ठूलो समस्यामा रहेको छ । आजै पनि केही खेलाडी घाइते भए र तिनलाई सब्स्टिच्युट गर्नुपरेको छ ।’ तर उनी आफ्ना खेलाडीलाई भन्न चाहन्छन्, केही धेरै बिग्रेको पनि छैन, कोही कसैका लागि सबै प्रकारको सम्भावना समाप्त भएको जस्तै स्थिति पनि होइन । उनी थप्छन्, ‘अबका खेलमा राम्रो खेल्न प्रेरित रहनुपर्नेछ ।’ 

हिमेश

Link copied successfully