भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण 

चैत्र २०, २०८१

माधव ढुंगाना

Closed training of Nepali national cricket team in Bhairahawa

भैरहवा — हङकङमा आगामी हप्तादेखि हुने चार देशीय टी–२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिन थालेका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो,’ आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गर्दै थापाले भने, ‘त्यसैले तपाईंहरुले सफलता पाउँदा वा नपाउँदा पनि सबै नेपाली साथमा छन् । यसपटक सफलता पाउनेमा हामी विश्वस्त छौं ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगति गर्व गर्नलायक रहेको बताए । राष्ट्रभक्ति र राष्ट्रियतालाई आत्मसाथ गरेर क्रिकेट खेल्न उनले आग्रह गरे ।

‘तपाईंहरु मैदानमा खेलिरहँदा हाम्रो छाती गर्वले फुलिन्छ । हाम्रा खेलाडीले जिते हुन्थ्यो भन्ने हुन्छ’, उनले भने, ‘त्यसैले सधैं मिहिनेत गर्नुस्, राष्ट्रप्रेम यहाँहरुलाई थाहा छ ।’

Closed training of Nepali national cricket team in Bhairahawa

नेपाल क्रिकेट संघ (क्यान) छनोटमा परेका २० जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी छन् । हङकङमा हुने चारदेशीय सिरिजपछि नेपाली टिम आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिजमा खेल्नेछ ।

रोहितकुमार पौडेल, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव बन्द प्रशिक्षणमा सहभागी छन् ।

प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको जनाए । राष्ट्रिय टिमका कप्तान पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताए । 

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully