बुटवल लुम्बिनी ०–० झापा
काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को खेल एउटा कारणले पछिसम्म पनि सम्झनामा राखिनेछ । र, यो कारण हो, बुटवल लुम्बिनी मुख्य प्रशिक्षकका रूपमा पुष्पलाल शर्माको नेतृत्वमा उत्रेको थियो । उनी प्रो–लाइसेन्स प्राप्त भुटानी प्रशिक्षक हुन् । केही वर्ष अगाडिसम्म नेपाली टिममा भुटानी प्रशिक्षक अकल्पनीय हुन सक्थ्यो ।
तर अब नेपाली फुटबलका लागि यो वास्तविकता भएको छ । शर्मा आफैं यो यात्रलाई कसरी सम्झन चाहन्छन् त ? उनको उत्तर थियो, ‘भर्खर पहिलो खेल भयो, त्यसैले खासै धेरै अनुभव गर्न पाएको छैन । अहिले नै यस्तै भन्ने छैन ।’ यो मीठो कूटनीतिक उत्तर भयो । अझ उनको थप प्रतिक्रिया थियो, ‘नेपालीले नेपाली खेलाडीको माया भएन ।’
बुटवल लुम्बिनीले आफ्नो पहिलो रोजाइका गोलरक्षकका रूपमा दीप कार्कीलाई नै भरोसा गरेको थियो, जबकि अन्य टिमले विदेशी गोलरक्षकमै आफ्नो फाइदा देखे । शर्मा त्यत्तिकैमा मात्र रोकिएनन्, उनले दीपको सक्दो प्रशंसा पनि गरे । पहिलो हाफमा ३–४ सशक्त प्रहार बचाउ गरेका उनै दीप प्लेयर अफ द म्याच भए ।
फेरि, खेलमै फर्कने हो भने यसलाई बिर्सनलायकका लागि भने एकभन्दा बढी कारण रहे । पहिलो त गोलै भएन, गोलका लागि असाध्यै राम्रो अवसर पनि बनेन । खेलमा रोमाञ्चकता थिएन, न त गति नै थियो । दुवै टिमका विदेशी खेलाडी फिक्का–फिक्का रहे । बरु खेल आफैंमा शारीरिक भयो, धक्कामुक्की बढी चल्यो । असाध्यै उल्लेखनीय मोड नै कम मात्र बने । एउटै छुट्नै नहुने विषय रह्यो, बुटवल लुम्बिनीका कप्तान एरिक विष्टले रातो कार्ड खानु ।
यसपल्टको प्रतियोगिताको सबैभन्दा ठूलो एउटा विशेषता हो, अंक तालिकामा वरीयता निर्धारण हुँदा गोल अन्तर पहिले हेरिनेछ, त्यसपछि मात्र एक अर्कोविरुद्ध खेलेको नतिजा आउनेछ । त्यसैले जित जत्तिकै गोल आवश्यक हुनेछ । अझ त्यसमाथि लिग चरणमा एउटा टिमले ६ खेल मात्र खेल्ने भएकाले लिग चरणको अन्त्यमा एक–एक गोल उत्तिकै महत्त्वपूर्ण हुनेछ ।
त्यसैले यस गोलरहित बराबरी र त्यसमा प्राप्त एक अंक बुटवल लुम्बिनी र झापा दुवैका लागि घाटा नै हुनेछ, सायद झापालाई बढी । बुटवल लुम्बिनीले एरिकलाई
दोहोरो पहेंलो कार्डका कारण गुमाएपछि अन्तिम २० मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो तर झापाले त्यसको फाइदा लिन सकेन र उल्टै दबाबमा रह्यो । यो तथ्यलाई झापाका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने माने ।
उनको भनाइ थियो, ‘विपक्षी टिम १० खेलाडीमा हुँदा हामी आत्तिएर खेल्यौं । दोस्रो हाफमा हाम्रो प्रदर्शन अझ कमजोर रह्यो ।’ कटुवालले के पनि माने भने खेल आफैंमा उम्दा रहेन । थपे, ‘एक अंकमा हामी खुसी छैनौं । बुटवल लुम्बिनीका गोलरक्षकले पनि आज राम्रो खेल्यो ।’
