अहमदाबाद — गुजरात टाइटन्सले शनिबार मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरी यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । मुम्बई पहिलो दुवै खेलमा पराजित भएको छ । मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पनि पराजित भएको थियो ।
टस हारेर ब्याटिङ निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो । ओपनर साइ सुदर्शनले लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा ४१ बलमा ६३ रन जोडेका थिए ।
उनले ४ चौका र २ छक्का प्रहार गरे । कप्तान शुभमन गिल २७ बलमा ३८, जोस बटलरले २४ बलमा ३९ र सेरफन रदरफोर्डले ११ बलमा १८ रन बनाए । निलम्बनका कारण पहिलो खेल गुमाएका कप्तान हार्दिक पाण्ड्येले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
जवाफमा आएको मुम्बईले ६ विकेट गुमाई १ सय ६० रनमात्र बनाउन सक्यो । तिलक वर्माले ३६ बलमा ३ चौका र १ छक्कासहित ३९ तथा सूर्यकुमार यादवले २८ बल खेल्दै १ चौका र ४ छक्कासहित ४८ रन बनाए ।
नमन धिर र मिचेल सान्टनर दुवै समान १८ रनमा अविजित रहे । गुजरातबाट प्रसिद्ध कृष्णा र मोहम्मद सिराजले २–२ विकेट लिए । प्रसिद्धले ४ ओभरमा १८ रनमात्र खर्चेका थिए । सिराजले ४ ओभरमा ३४ रन दिएका थिए ।
