प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता : आर्मीले पुलिसलाई दियो १५५ रनको लक्ष्य

चैत्र १६, २०८१

सन्जु पौडेल

Prime Minister's Cup One Day Cricket Tournament: Army set Police a target of 155 runs

तिलोत्तमा — प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। बसिर अहमदको विस्फोटक ब्याटिङको मद्दतले आर्मीले साविक विजेता पुलिसलाई १५५ रनको लक्ष्य दिएको छ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो।

आर्मीका लागि बसिर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ८६ रन बनाए। उनले १०४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। कप्तान विनोद भण्डारीले ५८ बलमा २९ रन जोडे भने विवेक यादवले ११ रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। भीम सार्की, कुशल मल्ल र शाहब आलम शून्य रनमा आउट भए।

पुलिसका करण केसीले ७ ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए। सागर ढकाल र कप्तान दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए भने ललित राजवंशी र गुल्शन झाले समान १/१ विकेट हात पारे। कुशल भुर्तेलले ५ ओभर बलिङ गर्दै कुनै विकेट नलिई २४ रन खर्चिए।

गत वर्षको फाइनलमा आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो। यसपटक आर्मी अघिल्लो संस्करणको हारको बदला लिन चाहन्छ, तर उत्कृष्ट लयमा रहेको पुलिस लगातार जित निकाल्ने योजनामा छ।

लिग चरणमा शीर्ष स्थानमा रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। बिहीबार भएको अन्तिम लिग खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। प्रधानमन्त्री कपमा अहिलेसम्म पुलिसले दुई पटक उपाधि जितेको छ भने आर्मीले एक पटक मात्र उपाधि उचालेको छ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully