चर्च ब्वाइज उपाधि नजिक

तिलोत्तमा गोल्डकप फाइनलमा चर्चले एपीएफसँग प्रतिस्पर्धा गर्ने

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Closer to the title Church Boys

बुटवल — चर्च ब्वाइज युनाइटेडले २३ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल तय गरेको छ ।

देवीनगरस्थित एन्फा टेक्निकल मैदानमा बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले ए डिभिजन प्रतिद्वन्द्वी मछिन्द्र एफसीलाई ४–१ ले पराजित गरेको थियो । चर्च ब्वाइजको जितमा अर्मान्ड बेएडुमले ह्याट्रिक गरे भने कप्तान अबायोमी फाकुल्नेले एक गोल थपेका थिए । मछिन्द्रका एलेक्स विलियम्सले एक गोल फर्काए ।

प्रवेश कटुवालको क्रसमा अर्मान्डले हेडर गर्दै गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि मछिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई बक्समा लडाए । त्यसैमा प्राप्त पेनाल्टीलाई अर्मान्डले गोलमा परिणत गरेर अग्रता दोब्बर पारे । उनले ४४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । राज भुसालले मिलाएको बलमा मछिन्द्रका गोलकिपर टोप रानामगरलाई बिट गर्दै अर्मान्डले गोल गरे । प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि संकटाका सृजनराज गौतमले ह्याट्रिक गरेका थिए ।

चर्च ब्वाइजले ६० औं मिनेटमा फाकुल्नेको गोलमा ४–० को अग्रता बनायो । राजले कर्नरबाट दिएको बलमा फाकुल्नेले भलीमार्फत गोल गरे । मछिन्द्रले निर्धारित खेल सकिन तीन मिनेट बाँकीमा एक गोल फर्काएको हो । एलेक्सले मध्यभागबाट आएको बलमा डिफेन्डरद्वय बिकु राई र चेतन चौधरी अनि गोलकिपर विवश चौधरीलाई बिट गर्दै गोल गरेका थिए ।

प्लेयर अफ द म्याच फाकुल्ने भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । चर्च ब्वाइजले टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई ४–३ ले हराएको थियो ।

चर्च ब्वाइजले शनिबार उपाधि भिडन्तमा एपीएफको चुनौती सामना गर्नेछ । एपीएफले संकटालाई १–० ले हराएर फाइनल पक्का गरिसकेको छ ।

२३ औं संस्करण विजेताले १२ लाख १२ हजार २२२ रुपैयाँ र उपविजेताले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पुरस्कार जित्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछ ।

कान्तिपुर

Link copied successfully