युवराजको निर्णायक गोल

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Yuvraj's decisive goal

तिलोत्तमा — विभागीय टोली एपीएफ क्लबले २३ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । देवीनगरस्थित एन्फा टेक्निकल मैदानमा बुधबार पहिलो सेमिफाइनलमा एपीएफले संकटा क्लबलाई १–० ले हरायो । एपीएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक भयो ।

दुवै टोलीले निर्धारित ९० मिनेटमा केही उत्कृष्ट निकालेका थिए । तर, फिनिसिङ नहुँदा गोल निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकर उन्मुख थियो । तर, थप ६ मिनेटको इन्ज्युरी समयमा युवराजले गोल गर्दै टाइब्रेकरमा पुग्नबाट रोके ।

उनले ९४ औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाए । उनको पासलाई सुजनले एक्लैले बक्स नजिक पुर्‍याएर प्रहार गरे । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीको हातबाट फुत्कियो । त्यही रिबाउन्ड बलमा युवराजले गोल गरेका हुन् । एपीएफले आयोजक रूपन्देही–११ लाई १–० ले हराएको थियो ।

काठमाडौंमा सभापति कप जित्दै मोफसल ओर्लिएको संकटाले क्वाटरफाइनलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४–० ले हराएर एपीएफसँगको भेट पक्का गरेको थियो । खेलमा प्लेयर अफ द म्याच युवराज नै घोषित भए । उनले ११ हजार १११ रुपैयाँ हात पारे ।

एपीएफले कम्तीमा ६ लाख ६६ हजार ६६६ रुपैयाँ पक्का गरिसकेको छ । अब एपीएफले उपाधिका लागि बिहीबार हुने ‘ए’ लिग डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मछिन्द्र एफसीबीचको विजेतासँग खेल्नेछ ।

कान्तिपुर

Link copied successfully