काठमाडौँ — प्लानिङ ब्वाइजले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बिहीबार लगातार तेस्रो जित निकाल्यो र ९ अंकसहित शीर्ष स्थानमा रह्यो । उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुरलाई २–० ले हराएको हो ।
त्यसमा विशाल दर्जी र फागुराम थारुले १/१ गोल गरे । हारले मध्यपुर भने ४ अंकमै रोकियो । मध्यपुरको यो पहिलो हार हो । बिहीबारकै अर्को खेलमा श्री भगवती भने वीरगन्जको हातबाट १–१ को बराबरीमा रोकियो ।
जिततर्फ अग्रस रहेको श्री भगवतीविरुद्ध वीरगन्जका कृपाकान्त महतो थारुले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा बराबरी गोल गरे । यसअघि श्री भगवतीले विक्रन्त नरसिंह राणाको गोलले अग्रता लिएको थियो ।
बराबरीले श्री भगवती ७ अंकमै रोकियो । वीरगन्ज पनि अपराजित छ र उसको ५ अंक भएको छ ।
