यस वर्ष मकवानपुर गोल्डकप नहुने, अझै सार्वजनिक भएन यसअघिकै हिसाबकिताब

चैत्र १३, २०८१

सुवास विडारी

There will be no Makwanpur Gold Cup this year, the previous accounts have not been published yet

मकवानपुर — जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गर्दै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष नहुने भएको छ । प्रायः सबै जिल्लाका गोल्डकप सम्पन्न भैसक्दा मकवानपुर गोल्डकप भने यस वर्ष नहुने पक्कापक्की भएको हो ।

यो वर्षको अन्तिम गोल्डकपका रूपमा अहिले रुपन्देहीमा तिलोत्तमा गोल्डकप सञ्चालन भइरहेको छ । त्यसपछि यही १६ गतेबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सुरु हुनेछ । करिब एक महिना एनएसएल चल्ने भएकोले त्यो समयमा गोल्डकप गर्न सम्भावना छैन ।

कतैबाट ठूलै रकमको आर्थिक जोहो गर्न सकिन्छ कि भनेर आन्तरिक रूपमा लागिपरेका फुटबल संघका पदाधिकारीले अहिलेसम्म स्रोतको फेला पार्न सकेको छैन । गोल्डकपको कुनै तयारीसमेत नभएकोले यसवर्ष प्रतियोगिता नहुने करिब पक्कापक्की जस्तै रहेको छ । यस वर्ष प्रतियोगिता नहुने पक्का रहेको फुटबल संघका एक पदाधिकारीले बताए । छैटौं संस्करणको मकवानपुर गोल्डकप सम्पन्न भएको करिब १४ महिना हुन लाग्दा आयोजकले अहिलेसम्म उक्त प्रतियोगिताको हरहिसाब समेत सार्वजनिक गर्न सकेको छैन । गोल्डकपको तिरोतारो अझै बाँकी रहेको पाइएको छ ।

गत वर्ष माघ २७ गते छैटौं संस्करणको गोल्डकप सम्पन्न गरेको थियो । ‘अघिल्लो वर्षकै पैसा तिर्न बाँकी छ । अहिलेसम्म कतै गतिलो स्रोत भेटिएको छैन । गोल्डकप नहुने पक्कापक्की जस्तै छ,’ ती पदाधिकारीले भने । संघका जिल्ला अध्यक्ष टीकाराम लामा, उपाध्यक्ष युवराज लामा र कोषाध्यक्ष अमृत लुङ्बालगायतका पदाधिकारी प्रतियोगिताको नामै परिवर्तन गरेर भए पनि गोल्डकपलाई निरन्तरता दिने उद्देश्यसहित सम्भावित स्रोत खोज्न लागिपरेका थिए ।

यद्यपि संघका अध्यक्ष लामाले एनएसएलपछि गोल्डकप हुनसक्ने बताउँदै आएका छन् । सुरुवाती वर्षमा मकवानपुरका स्थानीय तहले यस प्रतियोगिताका लागि २ देखि ५ लाख रुपैयाँसम्म बजेट छुट्याउने गरेको भए पनि पछि ‘उपलब्धिविहीन’ भन्दै बजेट कटौती गर्दै गएका थिए । अघिल्लो वर्षको गोल्डकपका लागि हेटौंडा उपमहानगरबाहेक अन्य स्थानीय तहले खासै बजेट उपलब्ध गराएनन् ।

अघिल्लो गोल्डकपको हिसाबसमेत सार्वजनिक गर्न नसकेको भन्दै फुटबल संघकै पदाधिकारी असन्तुष्ट हुँदै आएका छन् । छैटौं संस्करणको मकवानपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको थियो ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully