मलेसियासँग नेपालको हार

मलेसियाविरुद्धको खेलमा नेपालका लागि रेजिन सुब्बाको डेब्यु

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Nepal lost to Malaysia

काठमाडौँ — नेपालले एसिया कप छनोट तेस्रो चरणको मंगलबार भएको खेलमा मलेसियासँग २–० को पराजय भोगेको छ । मलेसियाले दुवै हाफमा एक–एक गोल गरेको हो । नेपालले यससँगै छनोटको तेस्रो चरणको यात्रा हारसँगै सुरु गरेको छ । नवनियुक्त मुख्य प्रशिक्षकका रूपमा म्याट रस भित्रिएयता नेपालको यो पहिलो हार हो ।

‘आजको खेलमा मलेसिया जितको हकदार रह्यो । विशेषतः दोसो हाफमा हामीले केही अवसर सिर्जना गर्ने प्रयास भने गर्‍यौं,’ प्रशिक्षक रसले खेलपछि प्रतिक्रिया दिएका छन्, ‘मलेसिया र सिंगापुरको भ्रमणबाट हाम्रो टिमले धेरै सिकेको छ । छनोटको अर्को खेलमा नेपालको प्रदर्शन पक्कै पनि सुधारिएको हुनेछ ।’

यसअघि नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरलाई हराएको थियो । मंगलबार जोहर बाहरूको सुल्तान इब्राहिम रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपेका थिए । सोही समूहको अर्को खेलमा भियतनामले सानदार सुरुआत लिँदै लाओसमाथि ५–० को विजय नतिजा निकाल्यो ।

भियतनामले शीर्षस्थानका लागि आफू नै बलियो प्रत्याशी रहेको प्रमाणित गर्‍यो । यो नजितासँगै भियतनाम र मलेसिया समान ३ अंकमा रहे । नेपाल र लाओस अंकविहीन रहे । अब जुनमा हुने छनोटको खेलमा नेपालले लाओसको सामना गर्नेछ भने अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

मलेसियाविरुद्ध नेपाल पूर्णतः रक्षात्मक रहेर खेलेको थियो र पूरा समय प्रतिद्वन्द्वीको आक्रमण रोक्न नै व्यस्त रह्यो । नेपालले मलेसियाविरुद्धका कुनै पनि खेलमा अहिलेसम्म गोल गर्न सकेको छैन र यो क्रम कायम रह्यो । नेपालले पूरा खेल अवधिमा कुनै उल्लेखनीय आक्रमण बुन्न सकेन ।

यसै खेलबाट नेपालका लागि रेजिन सुब्बाले डेब्यु अवसर पाएका थिए । एसिया कप छनोट तेस्रो चरणका अन्य खेलमा समूह ‘ए’ मा फिलिपिन्सले माल्दिभ्सलाई ४–१ र ताजाकिस्तानले टिमोर–लिस्टेलाई १–० ले हरायो । समूह ‘बी’ मा भुटान र यमनले गोलरहित बराबरी खेले । भुटानले छनोटमा एक अंक बटुल्ने क्रममा आफ्नो फुटबल स्तर बढेको प्रमाणित गर्न सफल रह्यो ।

समूह ‘सी’ का दुवै खेल गोलरहित बराबरीमा टुंगिए । त्यसमा सिंगापुर र हङकङ तथा भारत र बंगलादेश भिडेका थिए । समूह ‘डी’ मा तुर्कमेनिस्तानले चाइनिज ताइपेईलाई २–१ र थाइल्यान्डले श्रीलंकालाई १–० ले हराए । समूह ‘ई’ मा म्यानमारले अफगानिस्तानमाथि २–१ को जित रच्यो । एसियाली विश्वकप छनोटको समूह ‘ए’ मा किर्गिस्तानले कतारलाई उसकै घरमा ३–१ ले स्तब्ध पार्‍यो । समूह ‘बी’ मा दक्षिण कोरिया र जोर्डनले १–१ को बराबरी खेले । दक्षिण कोरिया १६ अंकसहित यो समूहको शीर्षमा छ । जोर्डन भने १३ अंकमा दोस्रो स्थानमा छ । समूह ‘सी’ मा अस्ट्रेलियाले चीनलाई २–० ले हरायो ।

जापान र साउदी अरेबियाले गोलरहित बराबरी खेले । इन्डोनेसियाले बहराइनमाथि १–० को जित रच्यो । जापान यसअघि नै विश्वकपका लागि छनोट हुने पहिलो टिम भइसकेको छ । शीर्षमा जापानको २० अंक छ । अस्ट्रेलिया १३ अंकमा दोस्रो स्थानमा छ ।

कान्तिपुर

Link copied successfully