मछिन्द्र तिलोत्तमा गोल्डकप सेमिफाइनलमा

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

In Machindra Tilottama Gold Cup semi-final

तिलोत्तमा — मछिन्द्र फुटबल क्लब २३ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । देवीनगरस्थित एन्फा टेक्निकल मैदानमा मंगलबार क्वाटरफाइनलमा मछिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

खेलमा राजीव लोप्चनले निर्णायक गोल गरेका हुन् । उनले ८८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । फ्रिकिकमार्फत आएको बललाई विवेक राईले बक्स बाहिरबाट भलीको प्रयास गरे । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो ।  

प्लेयर अफ द म्याच राजीव चुनिए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफ र संकटा क्लब भिड्ने छन् । यी दुईबीचको खेल बुधबार हुनेछ ।एपीएफले आयोजक करेन्ट रूपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराएका थिए । दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मछिन्द्रको सामना गर्नेछ ।

कान्तिपुर

Link copied successfully