लोकेश बमको उत्कृष्ट ब्याटिङमा एपीएफको रोमाञ्चक जित

चैत्र १३, २०८१

सन्जु पौडेल

A thrilling win for APF thanks to Lokesh Bam's excellent batting

तिलोत्तमा — लोकेश बमको कीर्तिमानी ब्याटिङमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा एपीएफले कोशीलाई २ विकेटले पराजित गरेको हो । यो जितसँगै एपीएफले फाइनलको सम्भावना कायमै राखेको छ । जितका लागि कोशीले दिएको २५५ रनको लक्ष्य पछ्याएको एपीएफले ४४.४ ओभरमा ८ विकेट गुमाउँदै २५८ रन बनायो । एपीएफको जितमा लोकेश बम नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै अविजित ८४ रन बनाए । उनले ५४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे ।

लोकेश प्लयेर अफ दि म्याच घोषित भए । कप्तान रोहितकुमार पौडेलले ६१ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ७३ बलमा ६ चौका प्रहार गरे । दीपक बोहराले ३६, सन्दीप जोराले ३० रन जोड्दा इरसाद अहमद १६ रनमा नटआउट रहे । एपीएफका आयुष्मान बम र अमर राउटेला शून्य रनमा आउट भए । बलिङमा कोशीका फिर्दोस अन्सारीले ३ विकेट लिए । अन्सारीले ८ ओभर बलिङ गर्दै एक मेडन राख्दै ४१ रन खर्चिए । यस्तै, दीपेश कँडेलले १० ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिएर ३ विकेत हात पारे । कोशीका ज्ञानेन्द्र श्रेष्ठ र प्रकाश कार्की महँगा सावित भए । श्रेष्ठले ८ ओभरमा ६९ रन खर्चिएर एक विकेट लिए भने कार्कीले बिना विकेट ५० रन खर्चिए । भुपाल लुइँटेलको नाममा एक विकेट रहृयो । 

त्यसअघि सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ५४ रनको योगफल तयार पारेको थियो । कोशीका लागि साकिब हकले सर्वाधिक ६८ रनको योगदान गरे । उनी ६३ बलमा ११ चौका प्रहार गर्दै अमर राउटेलाको बलमा एलबीडब्लू आउट भए ।

कप्तान अंकित सुवेदीले ३५, ऐश भट्टराईले ३४, सुजन थपलियाले ३३, ओपनर चिराज साहले २४ र दिपेश कँडेलले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा एपीएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान ३/३ विकेट लिए । गौतमले १० ओभर बलिङ गर्दै ४९ र ढकालले ५१ रन खर्चिए । कप्तान रोहित पौडेलले १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिएर २ विकेट हात पारे । इरशाद अहमद महाागा सावित भए । उनले १० ओभरमा ५६ रन खर्चिएर एक विकेट लिए । अमर राउटेलाको नाममा एक विकेट रहृयो ।

यो नतिजा पश्चात एपीएफ ९ खेलबाट १४ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ । एपीएफ भन्दा एक खेल कम खेलेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब समान १४ नै अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहृयो ।

यसअघि नेपाल पुलिस क्लब अपराजित रहँदै फाइनलमा प्रवेश गरिसकेको छ । पुलिस १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश भने ९ मध्ये ८ खेलमा पराजित भएर २ अंकका साथ तालिकाको पुछारमा रहेको छ । आर्मीले अब लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार अर्को विभागीय टोली पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । विभागीय डर्बीमा बलियो टोली पुलिसविरुद्धको खेलमा आर्मी फराकिलो अन्तरले पराजित भएमा मात्र एपीएफको फाइनल यात्रा सम्भव छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully