दाङ — लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मंगलबार विभागीय टिम नेपाल पुलिस क्लब र कर्णाली प्रदेश भिड्दैछन् ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टिमबीच बिहान ९ बजेपछि खेल सुरु हुनेछ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपरााजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लब र पाँचौं स्थानमा रहेको कर्णाली प्रदेश टिमबीच खेल हुन लागेको हो ।
अहिलेसम्म ७ खेल खेलिसकेको पुलिस क्लब ७ खेलमा शतप्रतिशत जित निकाल्दै १४ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ८ खेल खेलिसकेको कर्णाली प्रदेश ४ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ ।
आजको खेलमा कर्णालीलाई अन्तिम चारमा पुग्न जित अनिवार्य छ । कर्णाली प्रदेशमा कप्तान दिवान पुनसँगै रविन्द्र शाही, सुनिल धमला, निश्चल रावल, विपिन रावल, दीपेन्द्र रावत, अर्जुन घर्ती, हिमांशु जोशी, दिनेश अधिकारी, प्रकाश जैशी, अनुज चनारालगायत खेलाडी छन् ।
नेपाल पुलिसमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल, अमित श्रेष्ठ, रासिद खान, आरिफ शेख, गुल्सन झा, शंकर राना, दीलिप नाथ, करण केसी, सागर ढकाल, ललितनारायण राजवंशीलगायत खेलाडी छन् ।
जारी प्रतियोगिता अन्तगत लमहीमा आज अन्तिम खेल हो ।
यसपछिका बाँकी खेल रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ । फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिता तीन खेल मैदानमा भइरहेको छ ।
प्रतियोगिता अन्तर्गत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् । जसमा सोमबारसम्म ४० वटा खेल भइसकेका छन् ।
