विशाल पटेलको घातक बलिङमा मधेश विजयी

चैत्र १२, २०८१

सन्जु पौडेल

Madhesh won by Vishal Patel's deadly bowling

तिलोत्तमा — विशाल पटेलको घातक बलिङमा मधेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको हो । 

यो जितसँगै मधेशले पछिल्लो २ खेलमा बेहोरेको हारको यात्रा अन्त्य गरेको छ । मधेशको तेस्रो जित हो । जितका लागि मधेशले दिएको १०३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनमा समेटियो । सुदूरपश्चिमका हेमन्त धामीले बनाएको १९ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रहृयो । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशका विशाल पटेलले किफायती बलिङ गरेपछि सुदूरका ५ जना खेलाडी शून्य रनमै आउट भए । कप्तान नारायण जोशी ६ रन बनाएर पटेलकै बलमा क्याचआउट भए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न मधेशका विशाल पटेल एक्लैले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै २ मेडन राखेर मात्र १८ रन खर्चिए । प्रदीप पासवानले तीन विकेट हात पारे । उनले ८ ओभरमा ३ मेडन राख्दै मात्र ७ रन खर्चिए । यस्तै, रुपेश सिंहको नाममा एक विकेट रहृयो । 

त्यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मधेशले ४२.३ ओभरमा सबै विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो । मधेशका लागि प्रदीप पासवानले सर्वाधिक २३ तथा पवन सर्राफले १९ रन बनाए । यस्तै, दीपेस दास र रुपेश सिंहले समान १२–१२ रन जोडे । अन्य खेलाडीले खुलेर रन बनाउन सकेनन् । तीन जना खेलाडी शून्य रनमा आउट भए ।

सुदूरका शेर मल्ल र हेमन्त धामीले किफायती बलिङ गरेपछि मधेशले पनि खुलेर रन बनाउन सकेनन् । मल्ल र धामी दुवैले समान ४ विकेट लिए । मल्लले १० ओभरमा ६ मेडन राख्दै ५ रन खर्चिए । त्यस्तै हेमन्त धामीले ५ ओभर ३ बलमा ११ रन दिएर ४ विकेट लिए । नारायण जोशी र विकास आग्रीले १–१ विकेट हात पारे । यो नतिजासँगै मधेशले ८ खेलबाट ६ अंक जोडेको छ । 

एक खेल बढी खेसेको सुदूरपश्चिमको पनि समान ६ नै अंक भएको छ । दुवै टोली शीर्ष चारको होडबाट बाहिरिसकेका छन् । प्रतियोगिताअन्तर्गत बुधबार कोशी प्रदेशले विभागीय टोली एपीएफ क्लबको सामना गर्नेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully