दाङ — लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत सोमबार कर्णाली प्रदेश र बागमती प्रदेश टिम भिड्दैछन् ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई टिमबीच बिहान ९ बजेपछि खेल सुरु हुनेछ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा रहेको कर्णाली प्रदेश र छैटौं स्थानमा रहेको बागमती प्रदेश टिमबीच खेल हुन लागेको हो ।
अहिलेसम्म ७ खेल खेलिसकेको कर्णाली प्रदेश ४ मा जित र ३ मा हार व्यहोर्दै ८ अंकका साथ चौथो स्थानमा रहँदा समान ७ खेल खेलिसकेको बागमती प्रदेश ३ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै ६ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा छ ।
कर्णाली प्रदेशमा कप्तान पुनसँगै रविन्द्र शाही, सुनिल धमला, निश्चल रावल, विपिन रावल, दीपेन्द्र रावत, अर्जुन घर्ती, हिमांशु जोशी, दिनेश अधिकारी, प्रकाश जैशी, अनुज चनारालगायत खेलाडी छन् ।
बागमती प्रदेशको कप्तानी पृथु बास्कोटाले सम्हालेका छन् भने कर्णाली प्रदेशको कप्तानी दिवान पुनले सम्हालेका छन् । बागमतीमा कप्तान बास्कोटासँगै आशुतोष घिरैया, इशान पाण्डे, शुभ कंशाकार, सौरभ सुखाकर्मी, विपिन आचार्य, सोनु देवकोटा, रिजन ढकाल, गौतम केसी, सूर्य तामाङ, साकार गजुरेललगायत खेलाडी छन् ।
अंक तालिकाको चौथो स्थानमा रहेको कर्णालीले खेलमा जित निकाल्दै स्थान सुधारलाई निरन्तरता दिन चाहन्छ भने बागमती प्रदेशको टिमले पनि कर्णालीलाई हराउँदै अंक तालिकाको माथि उक्लिन चाहन्छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । राउण्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् । जसमा शनिबारसम्म ३७ वटा खेल भइसकेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुने तालिका रहेको छ ।
