काठमाडौँ — बागमती गाउँपालिका ललितपुरले अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितातर्फ पुरुषतर्फ दोहोरो जित पाएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा बागमती गाउँपालिकाले मन्थली नगरपालिका बी रामेछापलाई २५–२७, २५–१५, १५–१० ले हरायो ।
मैलुङ गाउँपालिकाले महांकाल गाउँपालिकालाई १६–२५, २५–२३, १५–११ को सेटमा हरायो दुप्चेश्वर गाउँपालिकाले पनौती नगरपालिकामाथि २५–१६, २५–२१ को सोझो सेटमा जित पायो ।
बागमती गाउँपालिकाले अर्को खेलमा गल्छी गाउँपालिका धादिङविरुद्ध २५–१६, २५–२३ को सेटमा जित पायो । दिनको अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले महांकाललाई २५–१५, २५–११ ले हराएको थियो ।
खाँडादेवी गाउँपालिकामाथि दुप्चेश्वर गाउँपालिकाले २५–१६, २५–२० को जित पायो । मन्थली नगरपालिका ‘ए’ ले पञ्चकन्या गाउँपालिकालाई २५–०, २५–० ले हरायो । महांकाल चार सीएलसीले मन्थली नगरपालिका ‘ए’ माथि २५–१६, २५–२० को जित पायो ।
महिलातर्फ नीलकण्ठ नगरपालिका धादिङले दुप्चेश्वर गाउँपालिका नुवाकोटलाई २५–१५, २५–१७ स्कोरले हरायो । अर्को खेलमा बिगु गाउँपालिका दोलखाले हेलम्बु गाउँपालिकालाई २५–१५, २५–१० ले हरायो । प्रतियोगितामा हेलम्बुको लगातार दोस्रो हार हो । बागमती प्रदेशभित्रका २२ पालिकाको सहभागिता रहेको प्रतियोगितामा समूह चरणका खेल वेस्ट अफ थ्री र क्वाटरफाइनलदेखि वेस्ट अफ फाइभ हुनेछ ।
दुवैतर्फ विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चैत १५ सम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ टिम र पुरुषतर्फ १४ टिमको सहभागिता छ । युवा खेलाडीले प्रतिभा देखाउन पाउने र बागमती प्रदेशका पालिकाबीच सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
