किरणको शतक

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Kiran's century

दाङ — किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशले लमहीमा कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । किरणले १ सय १५ रन बनाएपछि लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४३.४ ओभरमा २ सय ४२ रनमा अलआउट भयो । 

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बल खेली ४ छक्का र १२ चौका प्रहार गरे । शतकपछि उनी ठूला शट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीबाट क्याच आउट भए । किरणले यसअघि पनि लमहीमा गण्डकीविरुद्ध अविजित १ सय २१ रन बनाएका थिए । 

टेक बोहरा १६, अर्जुन विक १५, शेर मल्ल र कप्तान नारायण जोशी समान १४ तथा सौर्य श्रेष्ठ र निश्चल क्षेत्री १०–१० रन बनाएर आउट भए । कोशीका ज्ञानेन्द्र श्रेष्ठले ९.४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । जबाफमा कोशी ४५.१ ओभरमा २ सय ११ रनमा अलआउट भयो । 

कान्तिपुर संवाददाता

Link copied successfully