तिलोत्तमा गोल्डकप : एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात

चैत्र १०, २०८१

सन्जु पौडेल

Tilottama Gold Cup: APF and Church Boys get off to a winning start

तिलोत्तमा — बुटवलमा जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । आइतबारको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल हराउँदै उसले अन्तिम ४ मा स्थान बनाएको हो ।

यो सिजनमा विभिन्न ४ वटा प्रतियोगिताको उपाधि विजेता चर्चले तिलोत्तमा गोल्डकपमा दाबेदारीसमेत पेस गरेको छ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुदेखि नै चर्च ब्वाइज हाबी बन्यो । पहिलो हाफमा पाएको धेरै अवसर गुमाएको चर्च गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको पुलिसबाट पनि गोलका अवसर गुम्यो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा चर्च ब्वाइजका अमन लामा, चेतन चौधरी, अरमान बिउडियम र प्रवेश कुँवरको प्रहार गोलमा परिणत भयो । आकाश राई र सर्जजो डिकोको प्रहार रोकिदिए । यता नेपाल प्रहरी क्लबका प्रज्ज्वल चौधरी, गोलकिपर अमित टमाटा, अरुण गाहाले गोल गरे । मानबहादुर परियार बाहिरियो । ओसेन्द्र कटुवाल र विवेक पाण्डेको प्रहार बारमा लागेर बाहिरियो । खेलमा चर्च ब्वाइजका अमन लामा म्यान प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । सोमबार प्रतियोगिताको तेस्रो खेलमा संकटा एफसी र जर्जियन एफसी भारतका बीचमा हुने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।

यसअघि शनिबार मौसमका कारण रोकिएको खेलको दोस्रो हाफ आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका कप्तान हरि कार्कीले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको १७औं मिनेटमा एपीएफका हरि कार्कीले गोल गरेका थिए । खेलमा राम्रो अवसर गुमाएको आयोजक करेन्ट रुपन्देही-११ खेलमा दबाबमा रहेको थियो ।

शनिबार दोस्रो हाफ सुरु भएसँगै हावाहुरीका चलेपछि खेल रोकिएको थियो । आइतबार भएको दोस्रो हाफको खेलमा रुपन्देही खेलमा फर्कने धेरै अवसरलाई सदुपयोग गर्न चुकेको थियो । खेलमा एपीएफका विशाल गुरुङ प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully