प्रधानमन्त्री कप क्रिकेट : लमहीमा सुदूरपश्चिम र कोशी प्रदेश भिड्दै

चैत्र १०, २०८१

दुर्गालाल केसी

Prime Minister's Cup Cricket: Sudurpaschim and Koshi Pradesh clash in Lamhi

दाङ — लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश टिम भिड्दैछन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको सातौं स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको कोशी प्रदेश टिमबीच खेल हुन लागेको हो ।

अहिलेसम्म ७ खेल खेलिसकेको सुदूरपश्चिम २ मा जित र ५ मा हार व्यहोर्दै ४ अंकका साथ सातौं स्थानमा रहँदा समान ७ खेल खेलिसकेको कोशी प्रदेश १ खेलमा जित र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशौं स्थानमा छ । 

सुदूरपश्चिम प्रदेशको कप्तानी नारायण जोशीले सम्हालेका छन् भने कोशी प्रदेशको कप्तानी अंकित सुवेदीले सम्हालेका छन् । सुदूरपश्चिममा कप्तान जोशीसँगै खडक बोहरा, प्रकाश पाण्डे, निश्चल क्षेत्री, किरण ठगुन्ना, सुनिल चन्द, मिलन बोहरा, शेर मल्ल, हेमन्त धामी, विकास आग्री, सौर्य श्रेष्ठलगायत खेलाडी छन् ।

कोशी प्रदेशमा कप्तान सुवेदीसँगै चिराग साह, सकिब हक, सुजन थपलिया, सोनु अन्सारी, सुभम गहतराज, दिपेश कँडेल, भूपाल लुइँटेल, विपिन महतो, श्रवण किस्कु, प्रकाश कार्कीलगायत खेलाडी छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । राउण्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् । जसमा शनिबारसम्म ३४ वटा खेल भइसकेका छन् ।

यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब  चैत ११ गते बाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुने तालिका रहेको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully