विराटनगर — मोरङको लेटाङ फुटबल क्लब पाँचौँ संस्करणको मिल्स गोल्डकप च्याम्पियन बनेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा लेटाङले उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
लेटाङको जितको आधार बने पुजन चौधरी । जसले खेलको ४५ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाए । सुजन विकले निकालेको क्रस पासलाई पुजनले चलाखीपूर्ण तरिकाले जाली चुमाएका थिए ।
जितसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ पायो जबकि उपविजेता उदयपुरले फ्युजनले ५१ हजारमा चित्त वुझायो । लेटाङले पहिलो पटक प्रतियोगितामा भाग लिँदै उपाधि जितेको हो ।
लेटाङले सेमिफाइलनमा घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगरलाई ६-३ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतियोगितामा लेटाङको बर्चस्व कायम रह्यो । विभिन्न विधागत पुरस्कारहरूमा पनि उसैले कब्जा जमायो । बेस्ट गोलकिपरको उपाधि लेटाङका गोलरक्षक समिर क्षेत्रीले जिते । प्लेयर अफ द टुर्नामेन्टको उपाधि लेटाङकै किरण शंकरले पोल्टामा पर्यो । उत्कृष्ट प्रशिक्षक पनि लेटाङकै इन्द्र राई भए ।
उत्कृष्ट डिफेन्डरको उपाधि उदयपुरका युवराज थापाले पाए । उच्च गोलकर्ता लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ भए । उनीहरूले समान २–२ गोल गरेका थिए ।
