दाङ — लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज बाग्मती प्रदेश र कोशी प्रदेश टीम भिड्दैछन् ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ९ बजेदेखि खेल सुरु भएको छ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा रहेको बाग्मती प्रदेश र नवौंमा रहेको कोशी प्रदेश टीमबीच खेल हुन लागेको हो ।
अहिलेसम्म ६ खेल खेलीसकेको बाग्मती २ मा जीत र ४ मा हार व्यहोर्दै ४ अंकका साथ आठौं स्थानमा रहँदा समान ६ खेल खेलिसकेको कोशी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवौं स्थानमा छ ।
बाग्मतीको कप्तानी अनुभवी खेलाडी पृथु बास्कोटाले सम्हालेका छन् भने कोशी प्रदेशको कप्तानी अंकित सुवेदीले सम्हालेका छन् । बाग्मतीका लागि बास्कोटासँगै आसुतोष घिरैया, इशान पाण्डे, शुभ कंशाकार, सुमन सुनार, विवेक मगर, सूर्य तामाङ, रिजन ढकाल, विपिन आचार्य, गौतम केसी, साकार गजुरेललगायत खेलाडी छन् ।
कोशी प्रदेशमा कप्तान सुवेदीसँगै चिराग साह, सकिब हक, सुजन थपलिया, सोनु अन्सारी, सुभम गहतराज, दिपेश कँडेल, भुपाल लुइँटेल, विपिन महतो, श्रवण किस्कु, प्रकाश कार्कीलगायत खेलाडी छन् ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । सिंगल राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भईरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् । जसमा शुक्रबारसम्म ३३ वटा खेल भइसकेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत १० गते सुदरपश्चिम र कोशी प्रदेश, चैत ११ गते बाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबिच खेल हुने तालिका रहेको छ ।
