मुख्य प्रशिक्षक नियुक्त भएयता म्याट रसले आफ्नो पहिलो खेलमै नेपाललाई दिलाएको सफलता
काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा नेपालको शुक्रबार यस्तो विजय नतिजा आयो, जसलाई पछिसम्म पनि सम्झिने छ । नेपालले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई उसकै भूमिमा १–० ले पराजित गरेको हो । नेपालले सिंगापुरलाई हराएको मात्र होइन, गरेको गोलसमेत पहिलो हो । त्यसैले यो जित ऐतिहासिक मानिने छ । यसका नायक रहे, जिलेस्पीजंग कार्की ।
नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएयता म्याट रस बारम्बार आफ्ना खेलाडीको प्रशंसा गरिरहेका थिए । केही अवसरमा लागेको थियो, सायद उनले बढी नै दाबी गरेका छन् । तर, आफ्नो नेतृत्वमा खेलेको पहिलो खेलमा उत्साहबर्द्धक जित निकालेर रसले आफ्नो वचन पूरा गरेका छन् । यो नतिजाले नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा राम्रो खेल्न प्रेरित गर्नेछ ।
नेपालले सिंगापुर नेसनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो । खेलको १२ औं मिनेटमा जिलेस्पीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । खेलपछि जिलेस्पीले प्रतिक्रिया दिएका छन्, ‘यो गोलका लागि म निकै खुसी छु । यो मेरो लागि भन्दा पनि ठूलो हो पूरा टिमले राम्रो खेल्नु । म यो जितका लागि सबै समर्थक र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु ।’ उनले थपेका छन्, ‘मलेसियाविरुद्ध पनि आजको जस्तो उत्कृष्ट प्रदर्शनको आस राख्ने छौं । मलेसियाविरुद्ध यही टिम भावना र प्रयास कायम राख्नुपर्नेछ ।’
यसअघि दुई औपचारिक खेलमा सिंगापुर नै विजयी रहेको थियो । नेपालले त्यसमा कुनै गोल गर्न सकेको थिएन । सिंगापुर आफैं एसिया कप छनोटको तेस्रो चरणको तयारीमा छ । नेपालविरुद्धको हारले टोलीलाई थप निराश पार्नेछ ।
जिलेस्पीले राष्ट्रिय टोलीबाट गरेको यो तेस्रो गोल हो । उनले नेपालले खेलेका पछिल्ला ४ खेलमा गरेको गोलसंख्या तीन पुगेको छ । उनले आफू लयमा रहेको प्रमाणित गरेका छन् । आर्मीका यी खेलाडीमाथि प्रशिक्षकले अबका खेलमा विश्वास गर्न सक्ने आधार बनाएका छन् । जिलेस्पीले यसअघि विश्वकप छनोटमा यमन र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध गोल गरेका थिए ।
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा लगातार दोस्रो जित मात्र निकालेको छैन, लगातार दोस्रो क्लिन सिट पनि राखेको छ । कप्तान तथा गोलरक्षक किरण लिम्बूले क्लिन सिट राखेको खेलसंख्या पनि कीर्तिमान ३० पुगेको छ । उनले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा गोल नखाएको समय २ सय २० मिनेट पुगेको छ । उनले अन्तिम पटक ताजकिस्तानविरुद्धको खेलमा गोल खाएका थिए । नेपालको जितको एउटा कारण किरण पनि रहे । उनले आधा दर्जनभन्दा बढी प्रहार बचाएका थिए । सिंगापुरसँगको खेलबाट सुमन श्रेष्ठ र सुवास बमले डेब्यू गरेका थिए ।
अब नेपालले विश्वकप छनोट तेस्रो चरणको आफ्नो पहिलो खेलमा मंगलबार मलेसियाको सामना गर्नेछ । यो खेल जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुनेछ । यो प्राविधिक रूपमा मलेसियाले आफ्नो घरेलु मैदानमा खेलेको खेल हुनेछ । तय तालिकाअनुसार यो खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । छनोटको समूह ‘एफ’ मा नेपाल र मलेसियासँगै भियतनाम र लाओस पनि रहेको छ ।
