मैदान गाउँका, खेलाडी विदेशका

चैत्र ८, २०८१

लक्ष्मी गौतम

The field is from the village, the players are from abroad

पाँचथर — पाँचथरको फिदिममा आयोजित पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नमोबुद्ध फुटबल क्लब सप्तरीका विदेशी खेलाडी एलेक्सले तीन गोल गरे। खेल अवधिमा सर्वाधिक गोल गरेका उनलाई हाइ स्कोररको विधागत पुरस्कार दिइयो।

मच्छिन्द्र फुटबल क्लब काठमाण्डौका तर्फबाट खेलेका अर्का विदेशी खेलाडी स्टेफन र चर्च ब्वाइजका फोफोनाले समान २–२ गोल गरे। नाइजेरिया र कम्बोडियाबाट आएका यी तीनजना विदेशी खेलाडी पछिल्लो समय नेपालमा बसेर नेपाली फुटबल टिमबाटै खेल्ने प्रतिनिधि खेलाडी हुन्।

पछिल्लो समय नेपालका ए डिभिजनसँगै मोफसलका क्लबहरूले नाम चलेका फुटबल प्रतियोगिता जित्नकै लागि विदेशी खेलाडी मैदानमा उतार्दै आएका छन्। बजारमा मात्रै नभई ग्रामीण भेगमा आयोजना हुने पाँच लाख रुपैयाँभन्दा धेरै पुरस्कार राशिका प्रतियोगितामा भाग लिने क्लबहरूले पछिल्लो समय विदेशी खेलाडीलाई प्राथमिकता दिन थालेका छन्।

गत फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन भएको पाँचथर गोल्डकपको पाँचौं संस्करणमा आयोजक पाँचथर क्लबले दुई जना विदेशी खेलाडी मैदानमा उतारेको थियो। त्यसै बेला झापामा आयोजित मेची नगर गोल्डकप र विराटनगरमा आयोजित विराट गोल्डकपमा भाग लिएका चर्च ब्वाइज र मच्छिन्द्र फुटबल क्लबले प्रत्येक खेलमा दुई-दुई जना विदेशी खेलाडी मैदानमा उतारेका थिए।

पाँचथर गोल्डकप मात्रै नभई गत पुषमा सम्पन्न एघारौं फाल्गुनन्द गोल्डकपमा सहभागी १० मध्ये ८ टिमले दुई-दुई जना विदेशी खेलाडी मैदानमा उतारेका थिए। पाँचथर गोल्डकपमा सहभागी ८ मध्ये भारतको हिल्स फुटबल एकेडेमी र नेपाल पुलिस क्लब बाहेक ६ टिमले विदेशी खेलाडीलाई टिममा समावेश गरेका थिए। यसअघि गत पुसमा फिदिममै सम्पन्न एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा सहभागी १० मध्ये ८ टिम र पुषमै इलाममा सम्पन्न माइभ्याली गोल्डकपमा सहभागी अधिकांश टिममा विदेशी खेलाडी थिए।

मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक सबिन अधिकारीका अनुसार विदेशी खेलाडी शारीरिक रूपमा बलिया, प्राविधिक रूपमा दक्ष, र रणनीतिमा अब्बल हुने भएकाले क्लबहरूले उनीहरूलाई अनुबन्ध गर्दै आएका छन्। क्लबहरूले घरेलु लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धात्मक लाभ लिन विदेशी खेलाडीलाई मैदानमा उतार्ने उनको अनुभव छ।

नमोबुद्ध फुटबल क्लब सप्तरीका कप्तान सुरेश लामाका अनुसार टिममा विदेशी खेलाडी सहभागी गराउँदा प्रतिस्पर्धी टिमका खेलाडीमा मनोवैज्ञानिक प्रभाव पर्ने गर्छ। विदेशी खेलाडी एलेक्सले गोल गरेकै कारण ११ लाख रुपैयाँ पुरस्कार राशीको पाँचथर गोल्डकपमा आफ्नो टिम विजेता बन्न सफल भएको लामा बताउँछन्।

दर्शकहरू भने राज्यले दीर्घकालीन रूपमा नेपाली फुटबलको विकासका लागि आफ्नै देशका खेलाडीहरूको स्तर उकास्न रणनीति अपनाउनुपर्ने धारणा राख्छन्। फिदिम भेट्रान्स क्लबका कमल थपलियाले नेपाली क्लबमा विदेशी खेलाडी खेलाउनुपर्ने बाध्यता अन्त्य गर्न आधारभूत तहबाटै विद्यार्थीलाई रुचिअनुसारका खेलमा अभ्यस्त बनाउनुपर्ने बताउँछन्। नेपाली खेलाडीको गुणस्तर वृद्धिका लागि राज्यले लगानी गर्नुपर्ने उनको धारणा छ। नेपाली क्लबहरूले ट्राइकर र डिफेन्डर जस्ता प्रमुख स्थानमा विदेशी खेलाडी भित्र्याउँदै आएका छन्, जसले देशमै खेलिरहेका खेलाडीहरूको मनोबलमा असर पार्ने पुराना खेलाडीहरूको टिप्पणी छ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully