तिलोत्तमा — सन्दीप जोराको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले हराएको हो । उपाधि दाबेदार एपीएफको यो चौथो जित हो ।
जितका लागि सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफका लागि सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । जोराले ६८ बलमा ५ चौका प्रहार गरे । आसिफ शेखले ३२, ओपनर लोकेश बमले १९, दिपक बोहराले १४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १४ रन बनाउँदा भुवन कार्की १४ रनमै नटआउट रहे । सुदूरपश्चिमका लागि शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २–२ विकेट हात पारे ।
त्यसअघि सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । सुदूरका लागि निश्चल क्षेत्रीले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले ९२ बलमा ८ चौका र एक छक्का प्रहार गरे । प्रकाश पाण्डे ४२ रन बनाएर रनआउट भए । किरण ठगुन्नाले १२, सुनिल चन्द र हेमन्त धामीले समान १०–१० रन बनाउँदा शेर मल्लले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा एपीएफका कप्तान रोहित पौडेल र अमर राउटेलाले समान ३–३ विकेट लिए । भुवन कार्कीले २ तथा अभिषेक गौतमले १ विकेट हात पारे । यो नतिजासँगै विभागीय टोली एपीएफ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एपीएफले ६ खेलबाट चारमा जित र २ मा पराजित हुँदै आठ अंक जोडेको छ । पराजित सुदूरपश्चिम चार अंसहित तालिकाको छैटौं स्थानमा रहृयो । विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । त्रिभुवन
