दाङ — विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ। लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दिएको ११७ रनको मध्यम लक्ष्य आर्मीले २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पूरा गर्यो।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका तृतराज दासले ६८ बलमा ३ चौकासहित ३७ रन जोडे । बसिर अहमद ३८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । ईमरान सेखले १६ बलमा १ चौकासहित १२ रन जोड्दा भीम सार्कि १५ बलमा १ चौकासहित १४ जोडेर आउट भए ।
सोमपाल कामीले २१ बलको सामना गर्दै १० रनमा अविजित रहे । गण्डकीका चन्द्र पौडेलले ६ ओभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ ओभरमा १ विकेट लिए। सुदीप अर्यालले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोडेको थियो। गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए। उनले ४९ बल खेल्दै ४ चौकाको मद्दतमा ३३ रन जोड्दै साहब आलमको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनको साझेदारी गरेका अर्जुन र समीर कँडेलको विकेट पतनपछि गण्डकीका अरुका खेलाडी सस्तैमा समेटिए ।
समीर ८ रन जोडेर साहब आलमको बलमा पहिलो विकेटका रुपमा आउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नु पर्यो । दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरु खेलाडीले दोहोरो रन जोड्न सकेनन् । आर्मीका साहब आलमले एक्लै पाँच विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।
कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए । आर्मीलाई जित दिलाउन महत्त्वपूर्ण पाँच विकेट लिएका साहब आलम प्लेयर अफ द म्याच भए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पीएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टिमबीच खेल भइरहेको छ ।
अहिलेसम्म ७ खेल खेलीसकेको आर्मी ६ मा जीत र १ मा हार व्यहोर्दै १२ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा समान ६ खेल खेलिसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशौं स्थान अर्थात पुछारमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
