दाङ — लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश टीम भिड्दैछन् । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान दुई टीमबीच खेल सुरु भएको छ। आर्मी क्लवले टस जितेर बलिङ सुरू गरेको छ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पीएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीमबीच खेल हुन लागेको हो ।
अहिलेसम्म ६ खेल खेलीसकेको आर्मी ५ मा जीत र १ मा हार व्यहोर्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदा समान ६ खेल खेलिसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशौं स्थान अर्थात् पुछारमा छ ।
आजको खेलमा आर्मीले गण्डकी विरुद्ध जीत निकाल्दै शीर्ष दुईमा कायम रहन चाहन्छ भने मधेश प्रदेशले लगातारको हारको नतिजा उल्टाउँदै आर्मी विरुद्ध जीत निकाल्दै अंक तालिकामा पनि सुधार गर्न चाहन्छ । आर्मीको कप्तानी अनुभवी खेलाडी विनोद भण्डारीले सम्हालेका छन् भने गण्डकी प्रदेशको कप्तानी विपिन खत्रीले सम्हालेका छन् ।
आर्मीका लागि भण्डारीसँगै सोमपाल कामी, कुशल मल्ल, तृतराज दास, आकाश चन्द, साहब आलम, बसिर अहमद, नरेन साउद, सन्तोष कार्की, भीम सार्की, विवेक यादवलगायत खेलाडी छन् ।
गण्डकी प्रदेशमा कप्तान खत्रीसँगै अर्जुन कुमाल, समीर कँडेल, वंश क्षेत्री, दीपक डुम्रे, रोहित चन्द, सुजन गौतम, सुवास भण्डारी, चन्द्र पौडेल, सुदीप अर्याललगायत खेलाडी छन् ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोविनका आधारमा भईरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भईरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा बिहीबारसम्म ३० वटा खेल भइसकेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत ९ गते काेशी र वाग्मती प्रदेश, चैत १० गते सुदरपश्चिम र कोशी प्रदेश, चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।
