काठमाडौँ — जिलेप्सीजंग कार्कीको एक मात्र गोलमा नेपालले शुक्रबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरलाई १–० ले हराएको छ । नेपालले सिंगापुर नेसनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो ।
खेलको १२ औं मिनेटमा जिलेप्सीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको यो नै पहिलो पटक हो । यसअघिका दुई औपचारिक खेलमा सिंगापुर नै विजयी रहेको थियो । यस्तै नेपालले सिंगापुरलाई गोल गरेको समेत यो पहिलो पटक हो ।अब नेपालले एसिया कप छनोट तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ ।
