एनएसएलका लागि ललितपुर सिटीको जर्सी सार्वजनिक

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Lalitpur City jersey released for NSL

काठमाडौँ — साबिक विजेता ललितपुर सिटी एफसीले यस सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि बिहीबार जर्सी सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुखि चिरिबाबु महर्जनले ललितपुर सिटीको आधिकारिक जर्सी सार्वजनिक गरे ।

क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा परम्परागत पहिरन हाकुपटासीको प्रयोग गरिएको सिटीले जनाएको छ ।

जर्सी अनावरण गर्दै मेयर महर्जनले आफ्ना लागि खुसीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेको भन्दै यस पटक पनि उपाधि जित्न शुभकामना दिए । ‘दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्यो । हामील नेवारी भोज दिएका थियौं, यसपालि पनि मैले त्यो अवसर पाउँछु भन्ने आशा छ ।’

ललितपुर सिटीका मार्की प्लेयरमा अनन्त तामाङ छन् । ललितपुर सिटीले चैत १६ गते काठमाडौं रेजर्सविरुद्ध खेल्दै तेस्रो एनएसएल सुरु गर्नेछ ।

फर्डिनान्डको हस्ताक्षरित जर्सी बिक्री

जर्सी अनावरण कार्यक्रममा जर्सीको अक्सन गरिएको थियो । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर रियो फर्डिनान्डद्वारा हस्ताक्षरित ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो । उक्त जर्सीको बेसप्राइज ५० हजार राखिएको थियो । हरेक बिडमा ५ हजार थपिँदै गएको थियो । धेरैले उक्त जर्सी लिन चाहेका थिए । अन्तिममा सरोज कार्कीले १ लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए ।

उनले आफू पहिलादेखि म्यानचेस्टर युनाइटेड र रियो फर्डिनान्डको समर्थक भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि लाखमाथि खर्च गरेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully