साइतामा — जापान बिहीबार विश्वकप फुटबल २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । साइतामामा भएको एसिया–विश्वकप छनोट खेलमा जापानले बहराइनलाई २–० ले पराजित गरेको हो । यससँगै जापानले समूह ‘सी’ बाट तीन खेल खेल्नु अगाडि नै यो उपलब्धि पाएको छ ।
६० हजार दर्शकका माझ टोलीका लागि क्रिस्टल प्यालेसका दाइची कामादा र रियल सोसिडाडका ताकेफुसा कुबोले एक–एक गोल गरे । समूह ‘सी’ बाट दोस्रो टोलीको विश्वकपमा पुग्ने सम्भावना अस्ट्रेलियाको छ । जापानभन्दा अस्ट्रेलिया ९ अंकले पछाडि छ । जापानको १९ र अस्ट्रेलियाको
१० अंक छ ।
आयोजक देशका रूपमा क्यानडा, मेक्सिको र अमेरिकाले भने स्वतः विश्वकप खेल्नेछन् । एसियाबाट अबको विश्वकपमा ८ टिमले खेल्ने पाउनेछ । प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहनेछ । विश्वकपमा पहिलो पटक ३२ भन्दा बढी राष्ट्रले खेल्न लागेको हो ।
