प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशले दियो आर्मीलाई ११७ रनको विजयी लक्ष्य

चैत्र ८, २०८१

दुर्गालाल केसी

Prime Minister's Cup Cricket: Gandaki Pradesh gave Army a winning target of 117 runs

दाङ — लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११७ रनको विजयी लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी पदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोड्यो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । उनले ४९ बल खेल्दै ४ चौकाको मद्दतमा ३३ रन जोड्दै साहब आलमको बलमा बोल्ड आउट भए ।

पहिलो विकेटका लागि १२ दशमलव ३ ओभरमा ४६ रनको साझेदारी गरेका अर्जुन र समीर कँडेलको विकेट पतनपछि गण्डकीका अरुका खेलाडी सस्तैमा समेटिए ।

समीर ८ रन जोडेर साहब आलमको बलमा पहिलो विकेटका रुपमा आउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नु पर्‍यो ।

दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा आउट भए । अरु खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

आर्मीका साहब आलमले एक्लै पाँच विकेट बनाए । उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।

कुशल मल्लले १० ओभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टिमबीच खेल भइरहेको छ ।

अहिलेसम्म ६ खेल खेलीसकेको आर्मी ५ मा जीत र १ मा हार व्यहोर्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदा समान ६ खेल खेलिसकेको गण्डकी प्रदेश १ खेलमा जित र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशौं स्थान अर्थात् पुछारमा छ । 

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । राउण्ड राेबिनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully