तिलोत्तमा — दिपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णालीले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा कर्णालीले मधेशलाई ८१ रनले पराजित गरेको हो । योसँगै कर्णालीले जारी प्रतियोगितामा चौथो जित हासिल गरेको छ ।
यसअघि बिहीबार भएको खेलमा पनि दिपेन्द्रकै उत्कृष्ट प्रदर्शनमा कर्णालीले लुम्बिनी प्रदेशलाई हराएको थियो । कर्णालीले दिएको २२१ रनको विजयी लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा अलआउट हुँदै १३९ रनमा समेटियो ।
मधेशका लागि रुपेश सिंहले बनाएको ३० रननै व्यक्तिगत सर्वाधिक ठूलो स्कोर रहृयो । उनले ५३ बलमा तीन चौका प्रहार गरे । विशाल पटेलले २५, हरिशंकर साहले १८ र शैलेन्द्र साहले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अनिल साह ५ रनमा आउट भए ।
मधेशलाई सस्तैमा रोक्न कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका अधिकारीले ४१ रन खर्चिए । दिपेन्द्र रावतले ३ तथा प्रकाश जैशीले २ विकेट हात पार्दा सुनिल धमलाको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले सर्वाधिक ६१ रनको योगदान गरे । रावतले ९२ बलमा ६ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । यस्तै, अर्जुन घर्तीले २० बलमा २ चौका र १ छक्कासहित २६ रन बनाए ।
दिनेश अधिकारीले २४ र प्रकाश जैसीले २० रन जोड्दा कप्तान दिवान पुनले अविजित १८ रन बनाए । बलिङमा मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र कप्तान अनिल साहले समान २/२ विकेट लिए । यो नतिजासँगै कर्णाली प्रदेश अंक तालिकाको शीर्ष चारभित्र रहन सफल भएको छ । कर्णालीले ७ खेलबाट चारमा जित र तीनमा हार व्यहोर्दै ८ अंक जोडेको छ । पराजित मधेश भने ६ खेलबाट चार अंकका साथ तालिकाको सातौं स्थानमा झरेको छ ।
