पुलिसले ६ खेलमा अपराजित हुँदा सुदूरपश्चिम प्रदेशको दोस्रो जित
तिलोत्तमा — स्पिनर ललित राजवंशी र गुलशन झाको उत्कृष्ट प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित पाएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार उपाधि दाबेदार पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । पुलिस अपराजित छ । ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन जोडे । उनले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । ओपनर अर्जुन साउदले अविजित १८ र दिलीप नाथले १० रन बनाए । अमित श्रेष्ठले ७ रनमा बनाउँदा कुशल भुर्तेल शून्यमा आउट भए ।
त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको गण्डकीले २३.२ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनायो । अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे । उनले ६३ बलमा ८ चौका प्रहार गरे । रोहित चन्द र सुवास भण्डारीले १०–१० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । वंश क्षेत्री, दीपक डुम्रे, सन्दीप पराजुली र कप्तान विपिन खत्री रनविना आउट भए । सुदीप अर्यालले अविजित ७ रन बनाए ।
पुलिसका ललित र गुलशनले कसिलो बलिङ गरेपछि गण्डकी सस्तैमा समेटिएको हो । ललित एक्लैले ५ विकेट लिए । उनले ५.२ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिए । गुलशनले ४ विकेट लिए । उनले ८ ओभरमा एक मेडन राख्दै ४८ रन खर्चिए । पुलिस १२ अंकसहित शीर्षस्थानमा यथावत छ । गण्डकी २ अंक लिएर पुछारमा छ । गण्डकीले ६ खेलमा एक जित पाएको छ ।
सुदूरको दोस्रो जित
तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बुधबार सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गर्यो । १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ं.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको यो दोस्रो जित हो । यसअघि सुदूरपश्चिमले गण्डकीलाई हराएको थियो । सुदूरका किरण ठगुन्नाले अविजित ४३ रनको योगदान गरे । उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान नारायण जोशी २५ रनमा अविजित रहे । प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान, विप्रसन केसीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाई १ सय १६ रनमात्र बनायो । लुम्बिनीका कप्तान देव खनालले ४१ रन बनाए । प्रज्वल थापाले ३० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूपश्चिमका हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए ।
उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिए । उनी प्लेयर अफ द म्याच भए । सौर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले २–२ विकेट लिए । सुदूरपश्चिम तालिकाको सातौं स्थानमा उक्लिएको छ । हारका बाबजुद लुम्बिनी तेस्रो स्थानमा रहेको यथावत छ । लुम्बिनीले ६ खेलमा चार जित पाएको छ । बिहीबार सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी र कर्णाली तथा एक्स्ट्राटेकमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेश भिड्नेछन् ।
