काठमाडौँ — नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा चैत ८ र ९ मा वाङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीलाई प्रतियोगिताको स्वरुपबारे जानकारी गराइने छ ।
त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउन्ड हुनेछ । त्यसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेल हुनेछ ।
पुरुष र महिला दुवैमा विजेताले ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियमअनुसार सञ्चालन गरिनेछ ।
प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीको रूपमा इन्डियन माउन्टेनिरिङ फाउन्डेसन (आईएमएफ) का चिफ रुट सेटर विवश रोय नेपाल आएका छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वाङ्छु पिक प्रमोसन र अमेरिकी गैरनाफामूलक संस्था मुसा मसला रहेको छ ।
स्पोर्ट क्लाइम्बिङ खेलको विकास र खेलाडीको विकास र अभिवृद्धि गर्न वाङ्छु पिक र मुसा मसलाले प्रायोजन गरेको जनाइएको छ ।
स्पोर्ट क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा पनि सहयोग गर्नेछ । नेपालमा स्पोर्ट क्लाइम्बिङको धेरै सम्भावना रहेकाले यो खेलको प्रवर्धन गर्न सके खेलाडीले अन्तर्राष्ट्रिय रूपमा राम्रो नतिजा ल्याउन सक्ने संघको विश्वास छ ।
