काठमाडौँ — लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई २०६ रनको लक्ष्य दिएको छ ।
सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्दै कर्णाली ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै २०५ रनको स्कोरमा समेटियो ।
कर्णालीका लागि दुई जना ब्याटरले अर्धशतकीय पारी खेले । अर्जुन घर्ती र दीपेन्द्र रावतले अर्धशतक प्रहार गरेका हुन् ।
आक्रामक सुरुवात भएको कर्णालीले लगातार विकेट गुमाइरहेको अवस्थामा दीपेन्द्र र अर्जुनले पारी सम्हालेका थिए । उनीहरुले सातौं विकेटका लागि १०२ रनको साझेदारी गरे । अर्जुनले ५६ रनको योगदान दिए भने दीपेन्द्रले आउट हुनुअघि ६६ रन बनाए ।
यस्तै ओपनर सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चल रावतले ११ र बिपिन रावलले १० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले तीन विकेट लिए । कसिलो बलिङ गर्दै उनले १० ओभरमा चार मेडन राख्दै ३७ रन मात्र खर्चिए । यस्तै बिप्राशन केसी, अजय चौहान र निर्मल गुरुङले दुई/दुई विकेट लिँदा कप्तान देव खनालले एक विकेट लिए ।
