चितवन — राष्ट्रिय महिला फुटबल प्रतियोगिताको बुधबार एपीएफ क्लबले गोल वर्षा गर्दै सानदार जितसहित फाइनल यात्रा तय गरेको छ । दुई खेलाडीको ह्याट्रिकसहित एपीएफले घरेलु टोली भरतपुर–२४ लाई ११–० ले हरायो ।
उद्घाटन खेलमा मकवानपुरलाई पराजित गरेको भरतपुर सेमिफाइनलमा निरीह देखियो । भरतपुर–७ स्थित कृष्णपुर खेल मैदानमा एपीएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे ।
प्रीति राई, सविता राना मगर र गीता रानाले १–१ गोल गरे । अनिता केसी प्लेयर अफ द म्याच भइन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाइन् । एपिएफले २ खेलमा २० गोल गरिसकेको छ । एपीएफले उपाधिका लागि बिहीबार हुने रौतहट फुटबल क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग शनिबार खेल्नेछ ।
