गोधुली रनिङ कप फुटबल रात्रिकालीन हुने

चैत्र ६, २०८१

अर्जुन सुवेदी

Twilight Running Cup Football will be held at night

सुनसरी — विगत २५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गोधुली रनिङ कप फुटबल प्रतियोगिता यसपटक रात्रिकालीन समयमा हुने भएको छ । 

आयोजक गोधुली क्लबले बुधबार पत्रकार सम्मेलन गरी २५ औं संस्करणको प्रतियोगिता पहिलोपटक रात्रिकालीन समयमा आयोजना गरिने जानकारी गराएको हो । 

प्रतियोगिताको उद्घाटन भोलि बिहीबार सांझ ७ बजेदेखि सुरु हुने भएको छ । धरान रंगशालामा हुने प्रतियोगिता चैत २१ गतेसम्म चल्नेछ । अन्तर वडास्तरीय प्रतियोगितामा धरान उपमहानगरका १८ वटा वडाले सहभागिता जनाउनेछन् । 

धरान उपमहानगरको वडा नम्बर २ र ७ ले यस पटकको प्रतियोगितामा सहभागिता नजनाएको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । प्रतियोगिताको उद्धघाटन खेल वडा नम्बर ५ र वडा नम्बर १६ बीच हुनेछ ।

धरानमै पहिलोपटक हुन लागेको रात्रिकालीन गोल्डकपका लागि अस्थायी फ्रल्ड लाइटको व्यवस्था गरिएको उपाध्यक्ष केसीले बताए । प्रतियोगिताको विजेताले रनिङ कपसहित नगद १ लाख ५० हजार रुपैयाा प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाा पाउनेछ । 

व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता (हाई स्कोरर) लाई ७ हजार ५ सय, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी, म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, तथा उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार ५ सय रुपैयाा प्रदान गरिनेछ । 

धरान वडा नम्बर १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले विजेता र उपविजेताका लागि २५/२५ हजार रुपैयाँ पुरस्कार राशीमा थप्ने घोषणा गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न २४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । 

अर्जुन

Link copied successfully