प्रधानमन्त्री कप क्रिकेट : पुलिस र गण्डकी भिड्दै

चैत्र ६, २०८१

सन्जु पौडेल

Prime Minister's Cup Cricket: Police and Gandaki clash

तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा उपाधि दाबेदार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय टोली पुलिस र गण्डकीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ । पुलिस दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रनेछ भने विपिन खत्रीले गण्डकीको नेतृत्व गर्नेछन् । गण्डकीविरुद्धको खेलमा पुलिस आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ ।

राष्ट्रिय क्रिकेट टोलीको सदस्यको बाहुल्यता रहेको पुलिसलाई हराउन गण्डकीले संषघ गर्नुपर्ने देखिन्छ । पुसिललाई अलराउण्डर ऐरीसँगै, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुल्सन झा, बलिङमा स्पीनर ललित राजवंशी र सागर ढकालको साथ छ ।

यता गण्डकीले प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । गण्डकी बलियो टोली पुलिसको चुनौती पन्छ्याउँदै दोस्रो जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगितामा अपराजित पुलिस १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । समान १० अंक भए पनि नेट रन रेटका आधारमा त्रिभुवन आर्मी क्लबलाई उछिन्दै पुलिस शीर्ष स्थानमा रहेको हो । विभागीय टोली आर्मी तालिकाको दोस्रो स्थानमा छ । यता गण्डकी भने यसअघिका पाँचमध्ये एक जित र चार खेलमा पराजित भएको छ । गण्डकी २ अंकका साथ तालिकाको आठौं स्थानमा छ । 

यस्तै, बुधबार नै हुने अर्को खेलमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । तिलोत्तमास्थित एक्सट्राटेक ओभल मैदानमा बिहान ९ बजे सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुनेछन् । लुम्बिनी देव खनालको कप्तानीमा मैदना उत्रँदा सुदूरपश्चिमको नेतृत्व नारायण जोशीले सम्हाल्नेछन् । लुम्बिनी जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । यता सुदूरपश्चिम भने लगातारको हारको यात्रामा पूर्णविराम लगाउने योजनामा हुनेछ । 

यसअघिका पाँचमध्ये चार खेलमा जित निकाल्दै लुम्बिनी प्रदेशले अंक तालिकाको शीर्ष तीनमा रहेको छ । उसको ८ अंक छ । कमजोर सुदूरपश्चिम भने २ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ । यसअघिका ५ मध्ये चारमा खेलमा पराजित भएको सुदूरले एक खेलमा भने गण्डकी प्रदेशलाई हराएको थियो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully