प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका ललित राजवंशीले ६ विकेट लिएपछि सुदूरपश्चिम प्रदेश सस्तैमा समेटियो
तिलोत्तमा,दाङ — लगातार पाँचौं जित हात पार्दै त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलतर्फ अग्रसर भएका छन् । सोमबार विभागीय डर्बीमा आर्मीले एपीएफलाई ३ विकेटले हरायो । अंक समान भए पनि रनरेटका आधारमा आर्मीलाई उछिन्दै पुलिस शीर्षस्थानमा छ ।
आर्मीले तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा १ सय ४२ रनको लक्ष्य ४२.५ ओभरमा १ सय ४५ रन बनाएर पूरा गर्यो । कुशल मल्ल र सोमपाल कामीले आठौं विकेटमा ५८ रनको अविजित साझेदारी गरी आर्मीलाई जिताए । कुशल ३१ र र सोमपाल २२ रनमा अविजित रहे । कुशलले ५९ बलमा ४ चौका र १ छक्का तथा सोमपालले ५१ बलमा १ चौका प्रहार गरे ।
ओपनरद्वय तृतराज दास र सन्तोष कार्की समान ३, इमरान शेख ११, भीम सार्की ४, कप्तान विनोद भण्डारी ८ रनमा आउट भए । विवेक यादवले ४ चौकासहित २६ र बसिद अहमदले १३ रन बनाए । एपीएफका कप्तान रोहित पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले २–२ तथा किशोर महतोले १ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो । सन्दीप जोराले ६५ रनको इनिङ्स खेले । उनले ९१ बलमा ९ चौका प्रहार गरे । अमर, किशोर र भुवन कार्कीले ११–११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर लोकेश बम ४, आसिफ शेख ६ र रोहित ४ रनमा आउट भए । आर्मीका आकाश चन्दले १० ओभरमा ३५ रन खर्चेर ४, सोमपालले ३, शाहब आलमले २ र बसिरले १ विकेट लिए । छैटौं खेलमा एपीएफको चौथो हार हो ।
रूपन्देहीको सिद्धार्थ रंगशालामा प्लेयर अफ द म्याच भएका पुलिसका ललित राजवंशी ।
ललितको बलिङ जादु कायम
ललित राजवंशीको उत्कृष्ट बलिङमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हरायो । ललितले ६ विकेट लिएपछि १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । ललितले लगातार तेस्रो खेलमा ५ वा सोभन्दा बढी विकेट लिएका हुन् । उनले मधेशसँग ५ र एपीएफसँग ६ विकेट लिएका थिए । ललितले ५ खेल खेल्दै २१ विकेट लिइसके ।
प्लेयर अफ द म्याच ललितले ओभरमा १६ रनमात्र खर्चिए । सागर ढकालले २ र करण केसीले १ विकेट हात पारे । सुदूरपश्चिमका शेर मल्लले ३२, मिलन बोहराले २३ र टेक रावतले १२ रन बनाए । ३३/६ को अवस्थाबाट इनिङ्स सम्हाल्दै शेर र मिलनले सातौं विकेटमा ५२ रनको साझेदारी गरेका थिए ।
यसअघि सिद्धार्थ रंगशालामा टस जितेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनायो । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रनको योगदान गरे । उनले ४७ बलमा ५ चौका प्रहार गरे । आरिफ शेख ४०, दिलीप नाथ १९, अमित श्रेष्ठ १८ र सागर ढकाल २२ रनमा आउट भए । ओपनर अर्जुन साउदले २ र गुलसन झाले एक रनमात्र बनाए । कुशल भुर्तेलले खाता खोल्न सकेनन् भए ।
सुदूरपश्चिमका सौर्य श्रेष्ठले १० ओभरमा एक मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए । भोजराज भट्टले ३, शेरले २ र हेमन्त धामीले १ विकेट लिए । सुदूरको यो लगातार चौथो हार हो ।
शीर्ष चारमा लुम्बिनीको दाबेदारी
पाँचौं खेलमा चौथो विजय हात पारेपछि लुम्बिनी प्रदेशले शीर्ष चारमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । टोलीले दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा सोमबार मधेश प्रदेशलाई ८३ रनले पराजित गर्यो ।
युवा ब्याटर आकाश त्रिपाठीले धैर्यपूर्ण ब्याटिङ गरी ७३ रन बनाएपछि टस हारेको लुम्बिनी ४६ ओभरमा १ सय ५८ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच आकाशले १ सय २३ बलमा १ छक्का र ६ चौका प्रहार गरे । ६० रनमा ५ विकेट गुमाइसकेको अवस्थामा आकाश र कृष्ण कार्कीले ७५ रनको साझेदारी गरे । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चौकाबाट ३३ रन बनाए ।
कप्तान देव खनाल २५ बल खेल्दै २ चौकामा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लू सिकार भए । ओपनरद्वय मृनाल गुरुङले ६ रन र मनीष थापाले ५ रन बनाए । नरबहादुर सार्कीले ५, अजय चौहानले ४, निर्मल गुरुङ र विप्रसन केसीले ३–३, प्रज्वल थापा र रमेश कुर्मीले १–१ रन जोडे ।
मधेशका कमल गुप्ताले निकै कसिलो बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । विशाल पटेलले ५ ओभरमा १३ रन खर्चेर ३, हरिशंकर शाह, रञ्जित कुमार र प्रदीप पासवानले १–१ विकेट लिए ।
जबाफमा मधेश २६.५ ओभरमै ७५ रन बनाएर अलआउट भयो । दीपेश दासले ५९ बलमा १ चौकासहित २३ रन बनाए । हरिशंकर शाह १४ रनबाहेक अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । कप्तान अनिल साह ७, रोहन बिक ४, मयन यादव २, पवन सर्राफ १, प्रदीप पासवान ८ र रुपेश सिंह ९ रनमा आउट भए । लुम्बिनीका रमेश कुर्मीले ८ ओभरमा २ मेडनसहित १० रन दिएर ४ विकेट लिए । विप्रसन केसीले ५ ओभरमा ३ मेडनसहित ७ रन दिएर ३ तथा कप्तान देव खनाल र अजय चौहानले १–१ विकेट लिए ।
गत वर्ष शीर्ष चारमा रहेको मधेशले ४ खेलमा १ मा मात्र जित हात पारेको छ ।
