तिलाेत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकी प्रदेशलाई २८९ रनको लक्ष्य दिएको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८८ रन बनायो।
बागमतीका लागि इसान पाण्डेले ६९ रनको अर्धशतकीय इनिङ्स खेले, उनले ८२ बलमा चार छक्का प्रहार गरे। विपिन आचार्यले अविजित ६३ रनको योगदान गरे। शुभ कंसाकार ५२ रनमा आउट भए। विवेक मगरले ३४ रन बनाए भने रिजन ढकालले नटआउट २३ रन जोडे। ओपनर आसुतोष घिरैयाले १४ रन बनाए भने कप्तान पृथु बास्कोटा १६ रनमा आउट भए।
बलिङमा गण्डकीका लागि अर्जुन कुमाल एक्लैले चार विकेट लिए। उनले ७ ओभरमा ४० रन खर्च्दै एक मेडन ओभर पनि गरेका थिए। विपिन खत्री र सुवास भण्डारीले समान २-२ विकेट लिए।
गण्डकी अब जवाफी ब्याटिङ गर्दै छ। यसअघिका चार खेलमा एक जित र तीन हार भोगेको गण्डकी पाँचौ स्थानमा रहेको छ र उसको खातामा २ अंक मात्र छ। बागमती पनि एक जित र तीन हारसहित २ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ।
