अर्जुन घर्तीको उत्कृष्ट प्रदर्शनमा कर्णाली विजयी

चैत्र ५, २०८१

सन्जु पौडेल

Arjun Gharti's excellent performance saw Karnali win

तिलोत्तमा — अर्जुन घर्तीको उत्कृष्ट प्रदर्शनमा कर्णालीले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको हो ।

कर्णालीको यो दोस्रो जित हो । कोशीको भने यो पाँचौं हार हो । जितका लागि कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमा समेटियो । कोशीका लागि चिराग साहले सर्वाधिक २५ बनाए । शाकिब हक १३ र कप्तान अंकित सुवेदीले १० रनमा बनाउनुबाहेक अन्य कनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीलाई सस्तैमा समेट्न कर्णालीका सुनिल धमला र दिपेन्द्र रावतले समान ३–३ विकेट लिए । धमलाले १० ओभरमा ३ मेडन राख्दै मात्र १४ रन खर्चिए । दिवान पुनले २ विकेट हात पार्दा अनुज चनाराको नाममा एक विकेट रहृयो । 

त्यसअघि एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि अर्जुन घर्तीले अविजित ८८ रनको योगदान गरे । उनले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरे । उनी प्लेयर अफ दी म्याच घोषित भए ।

हिमांशु शाहीले ४६ रन बनाउँदा निश्चल रावल २० रनमा पभेलियन फर्किए । यस्तै, प्रकाश जैशीले १८, सुनिल धमलाले १३ र विपिन रावलले १० रनको योगदान दिए । बलिङतर्फ कोशीका लागि विपिन महतोले ३ विकेट लिए । दिपेश कँडेल र प्रकाश कार्कीले समान २/२ विकेट हात पारे । श्रवण किस्कु भने महँगो सावित भए । उनले ६ ओभरमा मात्र एक विकेट लिँदै ४५ रन खर्चिए । सुजन थपलियाको नाममा एक विकेट रहृयो । 

यो नतिजासँगै कर्णाली अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको ५ खेलबाट ४ अंक भएको छ । लगातार पाँचौँ हार बेहारेको कोशी प्रदेश भने तालिकाको पुछारमा रहेको छ । कोशीको मात्र २ अंक छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully