काठमाडौँ — लामिन यामल र फेरान टोरेसले दोस्रो हाफको इन्जुरी समयको गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडमाथि ४–२ को उत्कृष्ट पुनरागमन जित रचेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्षमा पनि उक्लिन सफल रह्यो ।
बार्सिलोनाको २७ खेलबाट ६० अंक भएको छ । उसको तुलनामा एक खेल बढी खेलेको रियल म्याड्रिडको पनि ६० अंक छ । एटलेटिको भने ५६ अंकमा तेस्रो स्थानमा रह्यो ।
मेट्रोपोलिटानमा भएको खेलमा एटलेटिको जुलियन एल्भारेज र एलेक्जान्डर सोरलोथको गोलको मद्दतले २–० ले अगाडि रहेको थियो । त्यसपछि रोवर्ट लेवनडोस्की तथा टोरेसले गोल फर्काए र खेल बराबरीको स्थितिमा आएको थियो ।
